Skip to content

भोटेकोशी बाढीको असर: बैंकहरुको साढे ४ अर्ब निक्षेप र २ अर्ब ४२ करोड कर्जा प्रभावित

काठमाडौं । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको भीषण बिनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, मकवानपुर र चितवन जिल्लामा ठूलो क्षति पुर्याएको छ ।

यो बाढीले जनधनको उत्तिकै मात्रामा क्षति भएको छ । यो बाढीबाट बैंकिङ क्षेत्र पनि अछुतो रहेनन् । बैंकिङ क्षेत्रले पनि भौतिक तथा मानविय ठूलो क्षति व्यहोर्नु परेको छ ।

उक्त क्षेत्रमा आएको बाढी तथा डुबानबाट वाणिज्य बैंकको मात्र करिब साढे ४ अर्ब रुपैयाँ निक्षेप प्रभावित भएको छ भने साढे २ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह प्रभावित भएको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्मामा बताउँछन् ।

उनका अनुसार प्रभावित क्षेत्रका बैंक शाखाबाट प्रवाह भएको कर्जाको तथ्यांक प्रारम्भिक रूपमा साढे २ अर्ब रुपैयाँ हाराहारीमा देखिएको हो । तर, जलविद्युत् आयोजनालगायत पूर्वाधार क्षेत्रमा बैंकहरुले गरेको लगानीको विवरण भने अझै संकलन हुन बाँकी रहेको उनले बताए ।

‘’हाइड्रोमा बैंकहरुको कति लगानी थियो भन्ने तथ्यांक आउन बाँकी छ । होटल, घर निर्माणलगायत अन्य क्षेत्रमा भएको लगानीको विवरण पनि संकलन भइरहेको छ,’’ शर्माले भने । प्रभावित क्षेत्रमा बैंकहरुको लकर संख्या तथा त्यसबाट प्रभावित ग्राहकको अवस्थाबारे समेत थप विवरण आउन बाँकी रहेको उनले बताए ।

शर्माका अनुसार प्रभावित क्षेत्रमा बैंकका शाखामा रहेका निक्षेपकर्ताको संख्या ७८ हजार २ सय रहेको छ भने कर्जा लिने ग्राहकको संख्या २ हजार १ सय २५ रहेको छ । बाढी तथा डुबानका कारण बैंकिङ कारोबारमा परेको असर आगामी पहिलो त्रैमासिक वित्तीय विवरणमा समेत देखिने भएको छ ।

प्रभावित क्षेत्रमा विभिन्न वाणिज्य बैंकका कुल १७ शाखा रहेका छन् । त्यसमध्ये कृषि विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक र एनआईसी एशिया बैंकका शाखा प्रभावित भएका छन् ।

एनआईसी एशिया बैंकका ३ वटा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ३ वटा, प्रभु बैंकका २ वटा तथा एनएमबी बैंक र सानिमा बैंकका एक–एक शाखा प्रभावित भएका छन् । प्रभावित शाखा तथा क्षेत्रमा बैंकहरुको थप लगानी, निक्षेप, कर्जा र अन्य सम्पत्तिको विस्तृत विवरण संकलन भइरहेकाले वास्तविक क्षतिको आकार अझै स्पष्ट हुन बाँकी रहेको संघले जनाएको छ ।

बाढीका कारण विभिन्न बैंकमा कार्यरत २७ जना कर्मचारी हालसम्म सम्पर्कमा आएका छैनन् । वाणिज्य बैंकतर्फ माछापुच्छ्रे बैंकको टिमुरे शाखाका ५ जना, ग्लोबल आइएमई बैंकको टिमुरे शाखाका १ जना र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका स्याफ्रुबेसी, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टरमा कार्यरत ७ जना कर्मचारी बेपत्ता छन् ।

यसैगरी, प्रभु बैंकका ५ जना, एनएमबी बैंकका ४ जना कर्मचारी (३ जना कर्मचारी र १ जना सुरक्षागार्ड), सानिमा बैंकका २ जना, लक्ष्मी सनराइज बैंकका २ जना र हिमालयन बैंकका १ जना कर्मचारीसमेत हालसम्म सम्पर्कविहीन रहेको बताइएको छ ।

यसैबीच, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका विभिन्न शाखामा कार्यरत १२ जना कर्मचारी घाइते भएका छन् । कृषि विकास बैंकको त्रिशूली शाखामा कार्यरत एक जना कर्मचारीसमेत घाइते भएको जानकारी प्राप्त भएको छ ।

कुन बैंकको कति निक्षेप र कर्जा ?

कृषि विकास बैंकको त्रिशुली शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उक्त शाखामा ९ हजार १३६ निक्षेप खातामा ५९ करोड ५२ लाख ४० हजार ८८२ रुपैयाँ निक्षेप रहेको छ । शाखाबाट १ हजार ३५६ कर्जा खातामार्फत १ अर्ब ३७ करोड ७४ लाख ७ हजार ९६ रुपैयाँ कर्जा प्रवाह भएको छ । आफ्नै भवनमा सञ्चालित शाखामा १४ कर्मचारी कार्यरत थिए, जसमध्ये एक जना घाइते भएका छन् । भल्टमा रु. १ करोड ७१ लाख २८ हजार ३१७.२६ र काउन्टरमा रु. ४२ लाख रुपैयाँ नगद रहेको थियो । यस बैंकले भल्टमा भएको रकम भने निकाल्न सफल भएको छ ।

सिटिजन्स बैंकको देवीघाट शाखा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ५ हजार १४ निक्षेप खातामा ३८ करोड ३९ लाख १५ हजार ९१५ निक्षेप रुपैयाँ रहेको छ । ७८ कर्जा खातामा ८ करोड ८८ लाख ६३ हजार २७७ रुपैयाँ कर्जा रहेको छ । उक्त शाखामा ८ जना कर्मचारी रहेको र उक्त कर्मचारी सुरक्षित रहेको बैंकले जनाएको छ । भल्टमा १ करोड ९ लाख ७ हजार ५२१ रुपैयाँ र काउन्टरमा ४४ लाख ७४ हजार ५३५ रुपैयाँ नगद रहेको थियो ।

ग्लोबल आइएमई बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ३ हजार ३३५ निक्षेप खातामा २४ करोड ४६ लाख ७९ हजार ११३ रुपैयाँ निक्षेप रहेको छ । २१ कर्जा खातामा १ करोड १ लाख ३० हजार ९२४ रुपैयाँ कर्जा रहेको छ। पाँच कर्मचारीमध्ये चार जना सुरक्षित छन् भने एक जना बेपत्ता छन् । भल्टमा. ६९ लाख ४ हजार ९४३ रुपैयाँ नगद रहेको थियो ।

हिमालयन बैंकको बेत्रावती शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा १४ हजार ४४२ निक्षेप खातामा ७६ करोड ६५ लाख ६९ हजार ७१ रुपैयाँ निक्षेप रहेको छ । १२१ कर्जा खातामा २९ करोड ७२ लाख ९७ हजार ३७ रुपैयाँ कर्जा रहेको छ । नौ कर्मचारीमध्ये एक जना बेपत्ता भएको बैंकले जनाएको छ । यस बैंकको भल्टमा २ करोड ५६ लाख ९९ हजार ८.७४ रुपैयाँ र काउन्टरमा ३० लाख ९६ हजार ६६० रुपैयाँ नगद रहेको थियो ।

लक्ष्मी सनराइज बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। शाखामा ५५२ निक्षेप खातामा ५ करोड ८२ लाख ८२ हजार ९७६ रुपैयाँ निक्षेप र २९ कर्जा खातामा २ करोड ४१ लाख २ हजार ७१३ रुपैयाँ कर्जा रहेको थियो । ६ कर्मचारीमध्ये चार जना सुरक्षित छन् भने दुई जना बाह्य स्रोतबाट नियुक्त कर्मचारी बेपत्ता छन् । भल्टमा ७५ लाख १८ हजार १६१ रुपैयाँ नगद रहेको थियो।

माछापुच्छ्रे बैंकको टिमुरे शाखा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ६८५ निक्षेप खातामा ६ करोड ९८ लाख ८० हजार ७७८ रुपैयाँ निक्षेप र ६ कर्जा खातामा रुपैयाँ ८३ लाख ९५ हजार ४४७ रुपैयाँ कर्जा रहेको छ । ६ कर्मचारीमध्ये पाँच जना बेपत्ता छन् । भल्टमा ४५ लाख ८ हजार ८५४ रुपैयाँ नगद थियो ।

नबिल बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ५३५ निक्षेप खातामा ५ करोड ५२ लाख ७५ हजार ६४८ रुपैयाँ निक्षेप रहेको छ । कर्जा खाता तथा रकम छैन । पाँचै जना कर्मचारी सुरक्षित छन्। भल्टमा ३० लाख ६२ हजार ३६५ रुपैयाँ नगद रहेको थियो ।

एनआईसी एसिया बैंकको बेत्रावती शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ५ हजार ७८१ निक्षेप खातामा २५ करोड ६० लाख ८ हजार २७९ रुपैयाँ निक्षेप रहेको छ । ५१ कर्जा खातामा ६ करोड ९५ लाख १७ हजार ३५० रुपैयाँ कर्जा रहेको छ । पाँचै जना कर्मचारी सुरक्षित छन्। भल्टमा १ करोड २० लाख ६८ हजार ८४७ रुपैयाँ नगद थियो ।

एनआईसी एसिया बैंकको स्याफ्रूबेँसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ५ हजार ३२२ निक्षेप खातामा २८ करोड ९९ लाख ८ हजार ९२ रुपैयाँ निक्षेप रहेको छ । ७९ कर्जा खातामा १३ करोड ७३ लाख २१ हजार ६५० रुपैयाँ कर्जा रहेको छ । पाँचै जना कर्मचारी सुरक्षित छन् । भल्टमा ६० लाख २७ हजार २७९ रुपैयाँ नगद थियो ।

एनआईसी एसिया बैंकको त्रिशुली शाखा भने गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । शाखामा २ हजार २६८ निक्षेप खातामा १३ करोड २७ लाख २२ हजार ५३८ रुपैयाँ निक्षेप र ७० कर्जा खातामा १३ करोड ४७ लाख १३ हजार ४९२ रुपैयाँ कर्जा रहेको छ । ६ कर्मचारी सबै सुरक्षित छन् । भल्टमा ६९ लाख ९६ हजार १३८ रुपैयाँ नगद रहेको थियो ।
यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ६ हजार ४३० निक्षेप खातामा २७ करोड २५ लाख १३ हजार ८२२ रुपैयाँ निक्षेप र ३७ कर्जा खातामा ५ करोड ९३ लाख ३६ हजार ८५७ रुपैयाँ कर्जा रहेको छ । सात कर्मचारीमध्ये एक जना बेपत्ता छन् । भल्टमा ५५ लाख ११ हजार ७८.४५ रुपैयाँ नगद थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्याफ्रूबेँसी शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा १३ हजार ६५२ निक्षेप खातामा ५९ करोड ३९ लाख ९६ हजार ८४० रुपैयाँ निक्षेप रहेको छ । ४४ कर्जा खातामा ३ करोड ४८ लाख ९५ हजार १०८ रुपैयाँ कर्जा रहेको छ । आठ कर्मचारीमध्ये पाँच जना बेपत्ता रहेका छन् । उक्त बैंकको भल्टमा २ करोड २० लाख २९ हजार ९ रुपैयाँ नगद रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मैलुङ विस्तार काउन्टर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । उक्त काउन्टर टिमुरे शाखाअन्तर्गत रहेकाले निक्षेप तथा कर्जाको छुट्टै विवरण उपलब्ध छैन। पाँच कर्मचारीमध्ये तीन जना सुरक्षित, एक जना घाइते र एक जना बेपत्ता छन् । भल्टमा ७९ लाख ३२ हजार १२५ रुपैयाँ नगद रहेको थियो ।

एनएमबी बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ३ हजार ९७५ निक्षेप खातामा ९ करोड ४३ लाख १९ हजार ३५१ रुपैयाँ निक्षेप र ३७ कर्जा खातामा ५१ लाख ५४ हजार ७०७ रुपैयाँ कर्जा रहेको छ । बैंकको पाँच कर्मचारीमध्ये चार जना बेपत्ता छन् । भल्टमा ७३ लाख ४१ हजार ५८७.८३ रुपैयाँ नगद रहेको थियो ।

प्रभु बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ६४९ निक्षेप खातामा ७ करोड ९८ लाख २ हजार ७७९ रुपैयाँ निक्षेप र ६ कर्जा खातामा ८० लाख ३२ हजार ६२६ रुपैयाँ कर्जा रहेको छ । सात कर्मचारीमध्ये तीन जना सुरक्षित, दुई जना घाइते र दुई जना बेपत्ता छन् । बैंकको भल्टमा ७६ लाख २६ हजार २९४.१२ रुपैयाँ नगद रहेको अनुमान छ ।

प्रभु बैंकको स्याफ्रूबेँसी शाखा पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा ४ हजार २८० निक्षेप खातामा ३६ करोड ३५ लाख ८८ हजार ४३४ निक्षेप रुपैयाँ र ९१ कर्जा खातामा ८ करोड ८७ लाख २४ हजार ८९६ रुपैयाँ कर्जा रहेको थियो । आठ कर्मचारीमध्ये दुई जना बेपत्ता छन् । भल्टमा १ करोड ७८ लाख ६९ हजार १४७.३० रुपैयाँ रहेको थियो ।

सानिमा बैंकको टिमुरे शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । शाखामा २ हजार १४८ निक्षेप खातामा १७ करोड ५१ लाख ५ हजार ९१० रुपैयाँ निक्षेप र ९९ कर्जा खातामा ८ करोड ४१ लाख ९७ हजार २८९ रुपैयाँ कर्जा रहेको छ। ६ कर्मचारीमध्ये चार जना सुरक्षित र दुई जना बेपत्ता छन् । बैंकको भल्टमा ३३ लाख २६ हजार ६९८ रुपैयाँ नगद रहेको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T