Skip to content

बुद्ध एयरको नयाँ सिरिजको एटीआर–७२–६०० जहाजबाट उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायम गरिने

काठमाडौं । बुद्ध एयरले नयाँ सिरिजको एटीआर–७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु गरेको छ। ९एन–एओएस कलसाइन भएको उक्त जहाजले शुक्रबार बिहान काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो।

६६ जना यात्रुसहित जहाजले बिहान ८ बजेर ६ मिनेटमा काठमाडौं विमानस्थलबाट नेपालगञ्जका लागि उडान भरेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरले उक्त जहाज गत जुलाई २५ मा फ्रान्सको तुलुसबाट नेपाल भित्र्याएको थियो। त्यसपछि आवश्यक प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा गर्न तथा रङरोगनको काम सम्पन्न गर्न करिब एक महिना लागेको थियो।

नयाँ एटीआर–७२–६०० मा पूर्ण ग्लास ककपिट, आधुनिक नेभिगेसन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट तथा उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। कम इन्धन खपत गर्ने भएकाले यो सिरिजलाई तुलनात्मक रूपमा वातावरणमैत्री जहाज मानिन्छ।

जहाजमा आरएनपी–एआर नेभिगेसन प्रणालीसमेत जडान गरिएको छ। यसले आवश्यक मापदण्ड र प्रक्रियाअन्तर्गत कम भिजिबिलिटीको अवस्थामा समेत उडान तथा अवतरणलाई सहज बनाउने कम्पनीले जनाएको छ।

यात्रुको सिट तथा ओभरहेड बिन पहिलेको सिरिजभन्दा ठूलो रहेको छ। जहाजभित्रको बनावट सुधार गरिएकाले ध्वनि प्रदूषणसमेत अघिल्लो सिरिजको तुलनामा कम हुने बुद्ध एयरको भनाइ छ।

थप एउटा एटीआर–७२–६०० ल्याउने तयारी

बुद्ध एयरले केही समयभित्र थप एउटा एटीआर–७२–६०० जहाज भित्र्याउने तयारी गरेको छ। नयाँ जहाज थपिएसँगै उडान तथा मर्मत तालिकालाई थप सुदृढ बनाउने कम्पनीले जनाएको छ।

हाल बुद्ध एयरसँग १४ वटा एटीआर–७२–५०० र एउटा एटीआर–७२–६०० जहाज रहेका छन्। कम्पनीले विगतमा दुई वटा एटीआर जहाजलाई उडानबाट बिदाइ गरिसकेको छ।

बुद्ध एयरले आन्तरिकतर्फ दैनिक १४० भन्दा बढी उडान गर्दै आएको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीमा साताको तीन दिन तथा कोलकातामा साताको चार दिन उडान भरिरहेको छ। पोखराबाट भैरहवा तथा नेपालगञ्जका लागि पनि उडान सञ्चालन भइरहेको छ।

दशैं, तिहार र छठसम्म सस्तो भाडा

राजमार्ग तथा सडक पूर्वाधारमा आएको क्षतिका कारण सडक आवागमन प्रभावित भएपछि बुद्ध एयरले न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने जनाएको छ।

कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतका अनुसार सडक आवागमन सहज नहुँदासम्म तथा दशैं, तिहार र छठसम्म सस्तो भाडादर कायम रहनेछ।

‘प्राकृतिक विपत्तिका कारण सडक आवागमनमा समस्या हुँदा हवाई सेतुमार्फत यात्रुलाई सहज आवागमनको विकल्प उपलब्ध गराउनु हाम्रो दायित्व हो,’ बस्नेतले भने, ‘यसैकारण राजमार्ग सहज नहुँदासम्म न्यूनतम भाडादरमै उडान सञ्चालन गर्ने निर्णय गरेका छौं।’

सस्तो भाडादरमा उडान सञ्चालन गर्दा कम्पनीले आर्थिक भार बेहोर्नुपर्ने भए पनि अहिलेको परिस्थितिमा राष्ट्रलाई आवश्यक पर्दा योगदान गर्नुपर्ने बस्नेतको भनाइ छ।

‘कुनै वर्ष घाटा होला, कुनै वर्ष नाफा होला। भोलिको बिहानी फेरि सुनौलो भइहाल्छ,’ उनले भने, ‘अहिलेको परिस्थितिमा हामी सबैले हृदयदेखि नै योगदान गर्नुपर्छ।’

हवाई इन्धनको मूल्य ९६ प्रतिशत बढ्यो

बुद्ध एयरका अनुसार हवाई उडानको कुल सञ्चालन खर्चमा हवाई इन्धनको हिस्सा करिब ३५ देखि ४० प्रतिशत हुन्छ। पछिल्लो सात महिनामा हवाई इन्धनको मूल्यमा करिब ९६ प्रतिशत वृद्धि भएको छ।

फेब्रुअरी २०२६ मा प्रतिलिटर १२७ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अगस्ट २०२६ मा बढेर २४९ रुपैयाँ पुगेको छ। सोही अवधिमा काठमाडौं–भैरहवा भाडादर ५ हजार ७०० रुपैयाँबाट बढेर ६ हजार ५०० रुपैयाँ पुगेको छ।

मौसम प्रतिकूलता तथा एयर ट्राफिकका कारण उडानमा केही ढिलाइ हुनसक्ने भए पनि यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन बुद्ध एयर प्रतिबद्ध रहेको बस्नेतले बताए।

७ हजार ३२२ केजी राहत सामग्री निःशुल्क ढुवानी

बुद्ध एयरले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा पठाउन विभिन्न जिल्लाबाट संकलित राहत सामग्री निःशुल्क ढुवानी गरेको जनाएको छ।

कम्पनीका अनुसार हालसम्म ७ हजार ३२२ केजी राहत सामग्री निःशुल्क ढुवानी गरी सम्बन्धित अधिकारीलाई हस्तान्तरण गरिएको छ।

भद्रपुरबाट १०५ केजी, भरतपुरबाट २ हजार १८८ केजी, सुर्खेतबाट १२० केजी, धनगढीबाट १ हजार ६६५ केजी तथा विराटनगरबाट २७२ केजी राहत सामग्री ढुवानी गरिएको छ।

त्यसैगरी, भैरहवाबाट २ हजार ४८ केजी, सिमरा तथा पोखराबाट ७५५ केजी र नेपालगञ्जबाट २६ केजी राहत सामग्री ढुवानी गरिएको बुद्ध एयरले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T