काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी नाका पूर्ण रूपमा बन्द भएपछि कन्टेनरहरू वैकल्पिक नाका प्रगोग गर्दै कोरलानाकातर्फ डाइभर्ट हुन थालेका छन् । रसुवागढी नाका बाढीका कारण बन्द भएपछि चीनबाट आयात भएका मालवस्तुको ढुवानी व्यवस्थापनका लागि सरकारले कोरलानाकालाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न थालेको हो ।
त्यससँगै रसुवागढीबाट डाइभर्ट गरिएका कन्टेनरहरू मुस्ताङ हुँदै कोरलानाकातर्फ जाने क्रम तीव्र बनेको छ । सशस्त्र प्रहरीका अनुसार बिहीबार बिहानसम्म मात्रै २६२ वटा कन्टेनर कोरलानाकातर्फ लागिसकेका थिए । शुक्रबार सयभन्दा बढी कन्टेनर कोरलानाकातर्फ उक्लिएका छन्। ठूलो संख्यामा कन्टेनर एकैपटक कोरलातर्फ पठाइएपछि जोमसोम चेकपोस्ट क्षेत्रमा मालवाहक सवारीको लामो लाइन देखिएको छ।
जोमसोम चेकपोस्टमा रोकिएका कन्टेनरका कारण मुस्ताङ हुँदै कोरलानाका जाने सडकमा सवारीसाधनको चापसमेत बढेको छ । रसुवागढी नाका बन्द हुँदा त्यसको प्रत्यक्ष असर चीनबाट आयात हुने विभिन्न वस्तुको आपूर्ति प्रणालीमा परेको छ।
विशेषगरी नेपालीहरूको प्रमुख चाडपर्वहरू नजिकिँदै गएका बेला चीनबाट आउने लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्सलगायत उपभोग्य वस्तु ठूलो परिमाणमा नेपाल भित्रिने गर्छन् ।
रसुवागढी नाका लामो समय बन्द रहँदा यस्ता वस्तुको आपूर्ति तथा बजार व्यवस्थापनमा समेत असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।
भोटेकोशीमा आएको बाढीले रसुवा क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण सडक तथा पूर्वाधारमा क्षति पुग्नुका साथै सयौं मालवाहक सवारीसाधनसमेत प्रभावित भएका छन् ।
रसुवागढी नाका तत्काल सञ्चालनमा आउन नसक्ने अवस्था बनेपछि वैकल्पिक रूपमा कोरलानाका प्रयोग गर्न थालिएको छ । यसबाट रसुवागढी नाकामा रोकिएका वा डाइभर्ट गरिएका मालवस्तुलाई अर्को मार्गबाट नेपाल भित्र्याउने बाटो खुलेको छ ।







प्रतिक्रिया दिनुहोस्