Skip to content
Prabhu

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत् प्रदर्शनी सुरु

काठमाडौं । ‘उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं ।’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु भएको छ ।

घरेलु तथा साना उद्योग संघ, काठमाडौं र उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको तीन दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रबर्द्र्धन तथा बिक्री वितरणका लागि राखिएको छ ।

नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित ताम्राकार हाउस परिसरमा सुुरु भएको प्रदर्शनीको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह र नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले संयुक्त रूपमा उद्घाटन गरे ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले अर्थतन्त्रको खम्बाका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योहरुको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिंदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरुको मनोबल बढाउनुपर्ने आवश्यकता औंल्याए ।

नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले लघु तथा घरेलु उद्योगहरुको प्रबर्द्धन र विकासका लागि नगरपालिका निरन्तर लागिरहेको बताए ।

प्रदर्शनीमा स्थानीय मौलिकता झल्काउने ४९ वटा स्टल राखिएको घरेलु तथा साना उद्योग संघ, काठमाडौंका अध्यक्ष सीता कार्कीले जानकारी दिए । पालिकास्तरमा पहिलोपटक आयोजना गरिएको प्रदर्शनीमा व्यवसायी तथा उपभोक्ताहरुको उत्साहजनक सहभागिताले उत्साहित बनाएको भन्दै आगामी दिनमा पनि स्थानीय निकायको सहकार्यमा यस्ता प्रदर्शनीहरुलाई निरन्तरता दिइने उनाले बताए ।

उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष सूर्य कँडेल, उपाध्यक्षहरु शोभा गुरुङ, राजेन्द्रमान श्रेष्ठ, मोहन कटुवाल, उद्योग तथा वाणिज्य कार्यालय, काठमाडौंका प्रमुख मेघनाथ रिजाल, महासंघअन्तरगत नागार्जुन नगर कमिटी प्रमुख उमा आचार्य, संघका उपाध्यक्ष इश्वर बहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनीको सह–आयोजकमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका तथा घरेलु नगर संघ, चन्द्रागिरी नगरपालिका तथा घरेलु नगर संघ, टोखा नगरपालिका तथा घरेलु नगर संघ, कागेश्वरी मनोहरा घरेलु नगर संघ रहेका छन् ।

प्रदर्शनीमा काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिकाबाट उद्योगीहरुले सहभागिता जनाएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal