Skip to content

‘नीतिगत अस्थिरतालाई मलजल गर्दै अर्थमन्त्री डा.वाग्ले, सेयर बजारलाई प्रभावित बनाउन आफैँ लागे’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नीतिगत स्थिरताको धज्जी उडाउँदै सेयर बजारलाई प्रभावित बनाउन आफै लागेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले सोमबार राति २१ बुँदे पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्य योजना २०८३ ल्याए ।

लामो समयदेखि सेयर बजार निरन्तर घट्न थालेपछि मन्त्री वाग्लेले बजारको सुधार गर्ने योजना ल्याउने तयारी रहेको भन्दै बजार बढाउन सहयोग गरेका थिए ।

उनले आफूले भने अनुसार सोमबार राति २१ बुँदे कार्य योजना ल्याए । ल्याएका योजना मध्ये पुँजीगत लाभकरको विषय निकै विवादित बनेको छ ।

२१ मध्ये २० औँ बुँदामा धितोपत्र बजारमा गरिने दीर्घकालीन लगानीलाई प्रोत्साहित गरी लगानीमैत्री बनाउन विद्यमान कर व्यवस्थामा निम्नानुसार सुधार गर्ने भनिएको छ ।

(क) बोर्डमा सूचीकरण भएको निकायको हितको नि:सर्गबाट प्राप्त लाभको हकमा धितोपत्र विनिमय बजारको कार्य गर्ने निकायले बासिन्दा प्राकृतिक व्यक्तिको हकमा तीन सय पैँसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र तीन सय पैँसठ्ठी दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने ।

(ख) सूचीकृत धितोपत्रको नि:सर्गबाट भएको नोक्सानी समायोजन: दफा ९५ को उपदफा (२) को खण्ड (क) बमोजिम कर तिरेका बासिन्दा प्राकृतिक व्यक्ति वा बासिन्दा निकायले कुनै आय वर्षमा सूचीकृत धितोपत्रको नि:सर्गबाट दफा ३७ बमोजिम गणना गरिएको नोक्सानी बेहोर्नु परेमा त्यस्तो नोक्सानी सोही आय वर्षमा सूचीकृत धितोपत्रको नि:सर्गबाट गर्दा घाटा समायोजन गर्न पाउने व्यवस्था सम्बन्धमा अध्ययनसहित लाभकर गणना विधिमा सुधार गरी नाफा र घाटा कारोबार तथा राफसाफ प्रणालीबाट समायोजन गरी खुद लाभ भएमा मात्र उल्लिखित दरमा पुँजीगत लाभकर अन्तिम करका रूपमा लिने व्यवस्था गर्ने भनिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेट ल्याउँदा पुँजीगत लाभकर बढाएको थियो । सेयर बजारमा यसअघि लाग्दै आएको अल्पकालीन र दीर्घकालीन लाभकर बढाएको हो ।

यसअघि दीर्घकालीन कारोबारमा लाग्दै आएको ५ प्रतिशत लाभकर बढाएर ७.५ प्रतिशत र अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत लाभकर १० प्रतिशत बनाइएको थियो । त्यो बेला कतिपय लगानीकर्ता लाभकर महँगो भयो भन्दै विरोधमा उत्रिएका थिए । तर, मन्त्री वाग्लेले यो नै अन्तिम हो भनेर लगानीकर्तालाई पटक पटक सम्झाएपछि मौन बनेका थिए ।

मन्त्रीले सोमबार ल्याएको कार्य योजनामा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ३.७५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत कायम गर्ने भनेको छ । लाभकर घटाउँला सेयर बजारमा लगानी गर्नेहरू उत्साहित नै हुन्छन् । लगानीकर्ताको लामो समयदेखिको माग पनि यही हो ।

तर, सामान्यतया करका दरमा मनलाग्दी चलाउन थाल्दा नीतिगत स्थिरता हुँदैन । उद्योगी व्यवसायीहरूले लामो समयदेखि नीतिगत स्थिरता माग गर्दै आएका छन् । अर्थमन्त्री वाग्लेले मनलाग्दी करका दर चलाउन थालेका छन् । अर्थमन्त्रीको यो काम अपरिपक्व, आलोकाँचो र नीतिगत अस्थिरताको उपज भएको बताउँन थालिएको छ ।

सरकारले आवश्यकता अनुसार करका दर चलाउन सक्छ । त्यसलाई मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत गरेर कार्यान्वयनमा लैजान सक्छ ।

तर, मन्त्री वाग्लेले सेयर बजारमा लाग्ने पुँजीगत लाभकर मनलाग्दी चलाएर बजार प्रभावित पार्न आफै तल्लीन बनेको आरोप लाग्न थालेको छ ।

रास्वपाको सरकार बनेदेखि, विश्वमा नाम कहलिएका व्यक्ति अर्थमन्त्री बन्दा पनि बजारले गति लिन नसकेपछि वाग्लेले २१ बुँदे कार्य योजना ल्याएको एक पुराना लगानीकर्ता बताउँछन् ।

“अहिले बजारको अवस्था हेर्दा मन्त्रीले ल्याएको कार्य योजनामा समग्रमा खोट छैन । बजारलाई बजार जस्तो बनाउन यो आवश्यक छ” एक पुराना लगानीकर्ताले भने, “लाभकर पनि सरकारलाई आवश्यक लागेको बेला चलाउन सक्छ । तर, कहिलेदेखि लागू हुने हो पत्तो छैन । एकाएक यस्तो गर्ने भनेर ल्याउनु गलत हो । ल्याएपछि तुरुन्तै लागू हुनुपर्थ्यो ।”

राज्यको मन्त्री जस्तो व्यक्तिले बजार जबरजस्ती बढाउने काम गर्न खोजे जस्तो देखिएको ती लगानीकर्ताको भनाइ छ ।

राज्यको उपल्लो निकायमा बस्नेहरूले यस्तो नीति लिने, बजार प्रभावित गर्न खोज्नु बजारको दीर्घकालीन हितमा नहुने ती लगानीकर्ताको तर्क छ ।

अर्थमन्त्रीले जुनसुकै हालतमा पनि सेयर बजार बढाउने नीतिले २१ बुँदे कार्य योजना ल्याएको भए पनि लाभकरको विषय निकै अपरिपक्व काम भएको र यसले सरकार नीतिगत स्थिरतामा गम्भीर छैन भन्ने देखाएको ती लगानीकर्ताको दाबी छ ।

करका विषयमा मन्त्रीले मनलाग्दी बोल्दै हिँड्ने हो भने भोलीका दिनमा मन्त्रीलाई कतै प्रधानमन्त्रीले नै बढी नियाल्ने दिन पनि आउन सक्ने उनको तर्क छ ।

प्रधानमन्त्री निजी क्षेत्रका प्रतिनिधिलाई भेटेर नीतिगत स्थिरता कायम गर्छु भन्ने, मन्त्रीले मनलाग्दी नीति ल्याउने र उनले लिएको नीति भोलिका दिनमा मन्त्रिपरिषद्ले स्वीकृत नगरेको खण्डको त्यसको जिम्मेवारी मन्त्री वाग्ले लिन कति तयार छन् भन्ने प्रश्न पनि सँगै आउने उनको दाबी छ ।

उनले बजारलाई प्रभावित बनाउन लगानीकर्तालाई उधारो बाचा गरेको र यस्ता काम अब गर्न नहुने लगानीकर्ताको माग छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T