Skip to content

अर्थमन्त्रीको २१ बुँदे सुधार योजनाले बढायो सेयर बजार: नेप्से ४८.५७ बढ्यो, कारोबार रकम ८ अर्ब २९ करोड माथि

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत साता सार्वजनिक गरेको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थानसम्बन्धी २१ बुँदे कार्ययोजनाले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । अर्थ मन्त्रालयले कार्ययोजना सार्वजनिक गरेसँगै लगानीकर्तामा उत्साह बढ्दा मंगलबारको कारोबारमा सेयर बजार मापक नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ बिन्दुमा पुगेको छ ।
बजार परिसूचकसँगै कारोबार रकममा समेत उल्लेख्य वृद्धि भएको छ । सोमबारको ४ अर्ब ६८ ८६ लाख ८२ हजार ३०३ रुपैयाँको कारोबार भएको बजारमा आज (मंगलबार) ८ अर्ब २९ करोड ७१ हजार ११५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सरकारले पुँजीबजारको सुधार, लगानीकर्ताको विश्वास अभिवृद्धि तथा बजारलाई थप व्यवस्थित र गतिशील बनाउने उद्देश्यसहित २१ बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । उक्त योजनाले बजारमा सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको देखिएको छ ।
आज कारोबारमा आएको १३ वटै उपसमूहको परिसूचक बढेको छ । आज कारोबारमा आएकोमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ । यसैगरी, आज वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । आज बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ ।
आज कारोबारमा आएको धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस कम्पनीको सेयर मूल्य आज १४.९६ प्रतिशतले बढेको हो । यसैगरी, सिन्धु विकास बैंकको सेयर मूल्य ११.०३ प्रतिशत बढेको छ ।
आज कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स उच्च स्थानमा रहेको छ । यस कम्पनीको आज ३२ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरू आकर्षित भएका हुन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T