Skip to content
Prabhu

काका भतिजाको लडाइँले १ अर्बको सम्पत्ति डुब्यो, हिमालयन बैंकलाई १६ करोड तिर्न बाँकी

काठमाडौं । २०६९ सालमा काठमाडौंमा निदान हस्पिटल खुल्यो । हस्पिटलको नेतृत्व डा पुकारचन्द्र श्रेष्ठले गरे ।

मृगौला प्रत्यारोपणमा नाम चलेका डाक्टर श्रेष्ठ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा थिए । अस्पताल डा श्रेष्ठको नेतृत्वमा खुलेपनि यसको व्यवस्थापनको जिम्मा उनका भतिजा अभिषेक श्रेष्ठलाई दिएका थिए । अभिषेक पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठका छोरा हुन् ।

अस्पताल राम्रोसँग चलिरहेको थियो । उद्योगी व्यवसायीदेखि लिएर डाक्टर तथा पछिल्लो समय डोल्मा फण्डले समेत लगानी गरेको थियो । अस्पतालले छुट्टै भवन बनाउनको लागि जग्गासमेत किनेको थियो ।

अस्पतालमा काका डा पुकार र भतिज अभिषेकबीच कसले गर्दा अस्पताल चलेको भन्ने लडाइँ  शुरु भयो । डा पुकार मृगौला प्रत्यारोपणमा नाम चलेका डाक्टर थिए । उनलाई विश्वास गरेर अस्पतालमा डाक्टरहरुले लगानी गरेका थिए । अभिषेक आफू व्यवस्थापनमा अब्बल भएको र जसको कारण अरु उद्यमी व्यवसायीले लगानी गरेको हुँदा अस्पताल चलेको दाबी गरेका थिए ।

अस्पताल चलिहरेको बेला निदानमा एउटा घटना घट्यो । २०७६ सालमा अनाधिकृत व्यक्तिबाट मृगौला लिएर प्रत्यारोपण गरेको आरोपमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानलाई प्रहरीले पक्राउ गर्यो । यसले डा पुकारको जुन इज्जत थियो त्यसमा दाग लाग्यो । मृगौला प्रकरणपछि अस्पतालमा बिरामीहरुको चाप कम हुन थालेको थियो । २०७८ सालमा डोल्मा फण्डले अस्पतालमा लगानी गरेको थियो ।

हिमालयन बैंकले निदानलाई ऋण तिर्न ताकेता गरेर दिएको पत्र

काका भतिजाको विवाद बढ्दै गएपछि अस्पताल चल्न नसक्ने गरेर बन्द भयो । घरबेटीले अहिले भाडा नतिरेको भन्दै उजुरी गरेका छन् । हिमालयन बैंकले १६ करोड  उठाउन माग गरेर चिठी काटेको छ । अस्पतालमा काम गर्ने डाक्टर र नर्स तथा अन्य सहयोगी कर्मचारीले तलब पाउन सकेका छैनन् ।

अस्पतालमा बढी लगानी गरेर लगानी डुबाउनेमा उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ छन् । यस्तै पछिल्लो समय लगानी गरेको डोल्माको पनि २० करोड जति डुबेको छ ।

‘हरेक कुरामा इगो ल्याएर काका भतिजाको लडाइँले चलिरहेको अस्पताल नचल्ने गरेर डुब्यो,’ निदानमा लगानी गरेका एक लगानीकर्ताले भने, ‘करिब १ सय जना सेयरधनीको १ अर्ब काका भतिजाको लडाईले डुबाए,बैंकले दिएको ऋण पनि कसरी तिर्ने भन्ने जोखिमा छ।’

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal