Skip to content
Prabhu

नारी दिवसः दमौलीमा महिला उद्यमी व्यापार प्रदर्शनी मेला

 

दमौली । तनहुँको दमौलीमा पहिलोपटक महिला उद्यमी व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला हुने भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जिल्लास्थित महिला उद्यमी सङ्घ नेपालले आजदेखि २७ गतेसम्म व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला गर्न लागेको हो । 

महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला गर्न लागिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिए । महिला उद्यमीले उत्पादन गरेका सामग्री बजारीकरणमा मेलाले सहयोग पुर्याउने उनको भनाइ थियो । 

अध्यक्ष मल्लले भने, ‘परम्परागत सीप र पेसालाई प्रवर्द्धन गर्न र स्थानीयस्तरमा उत्पादन भएका विभिन्न वस्तु बिक्रीका लागि मेला सहयोगी हुने विश्वास लिएका छौँ । यसले महिला उद्यमीलाई थप प्रोत्साहन हुनेछ ।’ उनका अनुसार मेलामा ५० स्टल रहने छन् ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहनेछन् । बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीय स्तरमै उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइने मेला आयोजकको भनाइ छ। 

तीन दिनसम्म सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको  छ । मेला सम्पन्न गर्नका लागि रू सात लाख खर्च हुनेछ ।  लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने सङ्घ दुलेगौडा इकाइ अध्यक्ष तुलसी शाहले बताए । उनले भने, ‘अहिलेका पुस्तालाई परम्परागत सामग्रीका बारेमा जानकारी छैन । त्यसका लागि पनि मेलाले सहयोग गर्नेछ ।’

व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले नगरपालिकाले विभिन्न वडामा महिला उद्यमी तयार पारेको भन्दै तिनै उद्यमीलाई प्रोत्साहन गर्न मेलाले सहयोग पुग्ने बताए । 

मेलामा स्थानीय तथा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारको प्रस्तुति, महिलाको आर्थिक, सामाजिक र कानुनी हक स्थापित गर्न चेतनामूलक कार्यक्रम, वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम गरिने सङ्घकी सचिव सरु श्रेष्ठले जानकारी दिए। 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal