काठमाडौं । पछिल्लो एक वर्षमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि उच्च भएको छ । नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२८ प्रतिशत बिन्दुले बढेर ५.९६ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको साउनमा यस्तो मुद्रास्फीति १.६८ प्रतिशत रहेको थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ साउनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.७७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो समूहको मुद्रास्फीति २.२८ प्रतिशतले ऋणात्मक थियो । गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति पनि बढेर ५.५२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो मुद्रास्फीति ३.९५ प्रतिशत थियो ।
दैनिक उपभोगमा पर्ने खाद्य वस्तुको मूल्यवृद्धि उल्लेख्य देखिएको छ । समीक्षा महिनामा घ्यू तथा तेलको मूल्य १५.६२ प्रतिशतले बढेको छ । त्यस्तै, फलफूलको मूल्य १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको ४.८० प्रतिशतले बढेको छ ।
गैर–खाद्य तथा सेवा समूहमा यातायात खर्च सबैभन्दा बढी बढेको छ । यातायातको मूल्य सूचकाङ्क १३.१७ प्रतिशतले बढेको छ । मदिराजन्य पेय पदार्थको मूल्य ७.२० प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.५२ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.९७ प्रतिशतले बढेको छ ।
क्षेत्रअनुसार पनि महँगीको दर फरक देखिएको छ। समीक्षा अवधिमा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ६.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ५.८८ प्रतिशतले वृद्धि भएको छ ।
प्रदेशगत रूपमा मधेश प्रदेशमा मुद्रास्फीति सबैभन्दा बढी ६.९४ प्रतिशत रहेको छ । सुदूरपश्चिम प्रदेशमा भने सबैभन्दा कम ४.६१ प्रतिशत रहेको छ । भौगोलिक क्षेत्रमध्ये तराईमा मुद्रास्फीति ६.६४ प्रतिशत, पहाडमा ५.९५ प्रतिशत, हिमालमा ५.१० प्रतिशत र काठमाडौं उपत्यकामा ४.८१ प्रतिशत रहेको छ ।
यसैगरी, उपभोक्ता मूल्यसँगै थोक मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । २०८३ साउनमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ८.२७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.३७ प्रतिशत मात्र थियो । यसरी एक वर्षमा थोक मुद्रास्फीति ५.९० प्रतिशत बिन्दुले बढेको छ।
समीक्षा अवधिमा मध्यवर्ती वस्तुको थोक मुद्रास्फीति १३.६२ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको ६.४५ प्रतिशत छ। निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ। उपभोग्य वस्तुको थोक मुद्रास्फीति भने ०.०५ प्रतिशतले ऋणात्मक रहेको छ ।
२०८३ साउनमा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.९६ प्रतिशत रहेको अवस्थामा सन् २०२६ अगस्टमा भारतको यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ । यस आधारमा नेपालमा भारतको तुलनामा उपभोक्ता मुद्रास्फीति १.१४ प्रतिशत बिन्दुले बढी देखिएको छ ।
समग्रमा, एक वर्षअघि १.६८ प्रतिशत रहेको नेपालको उपभोक्ता मुद्रास्फीति अहिले ५.९६ प्रतिशत पुगेको छ । घ्यू तथा तेल, फलफूल, माछा तथा मासु, तरकारीजस्ता खाद्य वस्तुसँगै यातायात र अन्य सेवाको मूल्यवृद्धिले आम उपभोक्ताको दैनिक खर्चमा थप दबाब परेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्