काठमाडौं । सांसद युवराज दुलालले रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका नागरिकले पाउनुपर्ने राहतदेखि आर्थिक कारोबारसम्मका सबै प्रक्रिया रोकिएको भन्दै बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्नुपर्ने माग गरेका छन् ।
बेपत्ता नागरिकका परिवारले पटक–पटक यस्तो माग गर्दै आएको उल्लेख गर्दै उनले सरकारले यस विषयमा गम्भीरतापूर्वक पहल गर्नुपर्ने बताए ।
त्यस्तै, मलेसियामा रोजगारीका लागि पहिलोपटक सिन्डिकेट लागू गरिएको भन्दै सांसद दुलालले त्यसप्रति पनि आपत्ति जनाएका छन् । उनका अनुसार मलेसियामा १ हजार १०० भन्दा बढी रोजगारदातामध्ये २५ वटा कम्पनीमार्फत मात्रै नेपाली श्रमिक पठाउन पाउने व्यवस्था गरिएको छ ।
उक्त व्यवस्थाप्रति प्रधानमन्त्री बालेन्द्र शाहले मलेसियाका समकक्षीसँग फोनमार्फत असन्तुष्टि जनाइसकेको उल्लेख गर्दै दुलालले सम्बन्धित मन्त्रालयले तत्काल कूटनीतिक पहल गरी सिन्डिकेट खारेज गर्नुपर्ने बताए ।
उनले नेपालको तर्फबाट पनि उक्त व्यवस्था तत्काल रद्द गर्न पहल गर्दै सबै म्यानपावर कम्पनीले प्रतिस्पर्धात्मक रूपमा वैदेशिक रोजगारी सञ्चालन गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरेका छन् .








प्रतिक्रिया दिनुहोस्