काठमाडौं । नेपाल धितोपत्र बोर्डले आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि अग्रिम सूचना दिनुपर्ने व्यवस्था गर्ने भएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीका कुनै आधारभूत सेयरधनीले आफुले धारण गरेको सेयर ५ प्रतिशत वा सो भन्दा बढी सेयर बिक्री गर्ने भएमा बिक्री गर्न चाहेको सेयरको बिक्री गर्नु भन्दा १५ दिन अगाडि नै कम्पनीलार्इ जानकारी गरार्इ त्यसको सूचना नेप्से मार्फत सार्वजनिक निष्कासन गर्नुपर्ने छ ।
बजार निगरानी, लगानीकर्ता संरक्षण तथा व्यवस्थित कारोबारको साधनका रूपमा विकास गर्ने हेतुले यस्तो व्यवस्था गर्न लागेको सेबोनले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४(१) अनुसार उक्त निर्देशन जारी गरिएको जनाइएको छ ।
यसले लगानीकर्ताहरूको सूचनामा समान पहुँच सुनिश्चित गर्न, लगानीकर्तालाई सूचित निर्णय गर्न सक्षम बनाउन, बजारमा सम्भावित आपूर्तिको पूर्वानुमान गर्न, असामान्य मूल्य प्रतिक्रियाको पहिचान गर्न र धितोपत्र कसूर एवं बजार दुरुपयोग निगरानीमा सहयोग पुर्याउन सहयोग गर्ने सेबोनले जनाएको छ ।
सेबोनले सबै सरोकारवाला पक्षहरूको बुझार्इमा थप स्पष्टता ल्याउनका लागि “नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नु अघि धितोपत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था तथा सो व्यवस्थाको औचित्य, अन्तर्राष्ट्रिय अभ्यास तथा प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणापत्र, २०८३” सार्वजनिक गरेको जनाएको छ ।
बोर्डबाट गरिएको अग्रिम सूचना दिनुपर्ने व्यवस्थासँगै बजारमा पारदर्शिता बढने, नियामकीय निगरानी सुदृढ भर्इ जोखिममा आधारित बजार निगरानी प्रभावकारी हुने, धितोपत्र सम्बन्धी कसूर तथा बजार दुरुपयोग नियन्त्रणमा सहयोग पुग्ने, बजारमा ठूलो परिमाणको बिक्रीका कारण उत्पन्न हुन सक्ने असामान्य मूल्य उतार–चढाव तथा बिक्री चाप व्यवस्थित भर्इ साना लगानीकर्ताको संरक्षण हुनुका साथै धितोपत्र बजारमा निष्पक्षता, अखण्डता, उत्तरदायित्व तथा लगानीकर्ताको विश्वास सुदृढ हुने बोर्डको विश्वास रहेको जनाइएको छ ।








प्रतिक्रिया दिनुहोस्