Skip to content

कोरला सडक पूर्ण रूपमा अवरुद्ध, सयौँ कन्टेनर भन्सार यार्डमै रोकिए, व्यापार पूर्ण रुपमा प्रभावित

मुस्ताङ । शनिबार रातिदेखि परेको अविरल वर्षा तथा हिमपातका कारण (जोमसोम-कोरला) सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ । म्याग्दी र मुस्ताङको सीमाक्षेत्र काभ्रेभीरबाट कोरला नाकासम्मको सडकमा ठाउँठाउँ पहिरो जानुका साथै उपल्लो मुस्ताङको कोरला पास क्षेत्रमा भारी हिमपात हुँदा आवागमन रोकिएको हो ।
वर्षाका कारण राष्ट्रिय गौरवको कोरला सडक पूर्ण रूपमा अवरुद्ध हुँदा वैकल्पिक कोरला नाका ठप्प हुँदा सयौँ कन्टेनर भन्सार यार्डमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार गएरातिको भारी वर्षा र हिमपातले मुस्ताङको काभ्रेभीरबाट कोरला नाकासम्मको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभीर खण्डमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर सडक अवरुद्ध बनेको छ । भारी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसा क्षेत्रका कतिपय ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको उनले जानकारी दिए । उनले तल्लो घाँसा, घाँसा चेकपोस्ट नजिकलगायत स्थानमा सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिए ।
यसैगरी घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको स्याउ फार्म नजिकैको फाराम खोलामा बाढी आउँदा सडक अवरुद्ध भएको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । बाढीका कारण सडक अवरुद्ध भए पनि भौतिक क्षति नभएको उनले बताए । त्यहाँ गाउँपालिकाको डोजर लगेर सडक खुलाउने प्रयास गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कोरला नाका जोड्ने जोमसोम-पान्डा खोला सडकमा गए रातिको वर्षाले सडक माथिबाट पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । यहाँका प्रहरी निरीक्षक बस्यालका अनुसार कागबेनीबाट वारागुङ-३ चैलेसम्मको सडक पनि अवरुद्ध भएको छ ।
कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन स्थानमा पहिरो खसेर सडक संरचनामा क्षति पुगेको उनले उल्लेख गरे ।
यसैगरी मुस्ताङमा गएराति भारी वर्षा भइरहँदा लोमान्थाङ र कोरलानाका क्षेत्रमा भारी हिमपात भएको छ । लोमान्थाङ-४ न्हेचुङस्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का ईञ्चार्ज एवं सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार कोरला नाका र भन्सार क्षेत्रमा गए राति भारी हिमपात भएको छ ।
हिमपातका कारण कोरलानाकाको दशजगजा क्षेत्रमा पाल टाँगेर बस्ने स्थानीय व्यापारी समस्यामा परेका छन् । भारी हिमपातले स्थानीय व्यापारीले टाँगेका आधा दर्जन बढी पाल भत्किएका छन् भने कोरलाबाट लोमान्थाङ आवतजावत गर्ने राष्ट्रिय राजमार्ग सडक हिउँले पूर्ण रूपमा अवरुद्ध बनेको बिओपी इञ्चार्ज धितालले उल्लेख गरे ।
कोरलानाका क्षेत्रमा शुक्रबार रातिदेखि परेको भारी हिमपातका कारण नेपाल-चीन निकासी तथा पैठारी व्यापार पूर्ण रुपमा प्रभावित भएको छ । बिओपी ईञ्चार्ज धितालका अनुसार कोरलानाकास्थित मुस्ताङ भन्सार यार्डमा २०० भन्दा बढी कन्टेनर अलपत्र परेका छन् । भन्सार जाँच पास भइसकेका र सीमापारी मालवस्तु लिन जाने खाली कन्टेनर यथास्थानमा रोकिएको उनको भनाइ छ । कोरलानाका क्षेत्रमा एक फिट बढी हिउँ परेको इञ्चार्ज धितालले जनाए ।
त्यस्तै भारी वर्षाका कारण विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । जोमसोम विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारीका प्रमुख सनप्रसाद थकालीका अनुसार घरपझोङ र थासाङ गाउँपालिकाको सिमाना चोखोपानीमा २४० किलोवाट क्षमताको जलविद्युत् गृहमा बाढी पसेर बन्द भएको हो । वर्षाका कारण गएरातिदेखि म्याग्दीको दानाबाट कोवाङसम्मको ३३ केभीए प्रसारण लाइनको सम्पर्क विच्छेद हुँदा मुस्ताङको विद्युत् सेवा पूर्ण रूपमा अवरोध भएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले गए रातिको वर्षाले पुर्‍याएका क्षति विवरण सङ्कलन गर्नमा सञ्चार सम्पर्क हुन नसक्दा समस्या भइरहेको जनाएको छ । उत्तर/दक्षिण जोड्ने बेनी-जोमसोम सडकखण्डको म्याग्दी खण्डमा पनि गएरातिको भारी वर्षाले दर्जनाैँस्थानमा सडक अवरुद्ध हुन पुगेको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपर भाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima