काठमाडौं । बाढीका कारण २.५ मेगावाट क्षमताको सयपत्री हाइड्रोपावर लिमिटेडको विद्युत् उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको छ ।
बागलुङ जिल्ला ताराखोला गाउँपालिकामा निर्माण सम्पन्न भई सञ्चालनमा रहेको सयपत्री हाइड्रोपावरको विद्युत् उत्पादन तथा प्रसारण कार्य अवरुद्ध भएको हो । बाढीले आयोजनाको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुर्याएपछि विद्युत् उत्पादन र प्रसारण बन्द भएको हो।
कम्पनीका अनुसार असोज ९ गते शुक्रबार राति करिब ११ बजेदेखि आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण कार्य बन्द भएको छ । बाढीका कारण आयोजनाको स्विचयार्डदेखि नेपाल विद्युत् प्राधिकरणको हेरिचौर सबस्टेसनसम्म रहेको ३३ केभी प्रसारण लाइनका पोल तथा तारमा क्षति पुगेको कम्पनीले जनाएको छ।
त्यस्तै, असोज १० गतेदेखि ताराखोला गाउँपालिकाका केही क्षेत्रमा समेत विद्युत् आपूर्ति अवरुद्ध भएको छ। विद्युत् आपूर्ति अवरुद्ध हुँदा सञ्चार सम्पर्कसमेत विच्छेद भएको कम्पनीले जनाएको छ।
सञ्चार सम्पर्क विच्छेद भएका कारण आयोजनास्थलमा कार्यरत कर्मचारीहरूसँग हालसम्म सम्पर्क हुन नसकेको कम्पनीको भनाइ छ। यसले गर्दा आयोजनास्थलमा बाढीका कारण भएको थप क्षतिको विवरणसमेत प्राप्त हुन सकेको छैन।
आयोजनास्थलमा रहेका कर्मचारीहरूसँग सम्पर्क स्थापित भएपछि आयोजनाको वास्तविक अवस्था र थप क्षतिको विवरण सार्वजनिक गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ।
हाल बाढीबाट क्षति पुगेको ३३ केभी प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा भएको क्षतिको यकिन गर्ने काम भइरहेको कम्पनीले जनाएको छ। कम्पनीले आयोजनाको बीमा गरिएको समेत जानकारी गराएको छ।
बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण अवरुद्ध हुँदा आयोजनाको नियमित सञ्चालन प्रभावित भएको छ। यद्यपि, थप क्षतिको विवरण र विद्युत् उत्पादन पुनः सञ्चालन हुने समयबारे कम्पनीले स्पष्ट जानकारी दिएको छैन।









प्रतिक्रिया दिनुहोस्