Skip to content

जियोको आईपीओ खुल्नेबित्तिकै लगानीकर्ताको ओइरो, पहिलो दिनमै तीन गुणा बढी आवेदन

nabil
global ime

मुम्बई। भारतीय उद्योगपति मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजअन्तर्गतको दूरसञ्चार कम्पनी जियो प्लेटफर्म्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ। आईपीओ खुलेको पहिलो दिनमै तीन गुणाभन्दा बढी आवेदन परेको छ भने संस्थागत लगानीकर्ताको समूहमा माग उल्लेख्य रूपमा बढेको छ।

बुधबार खुलेको आईपीओमा योग्य संस्थागत खरिदकर्ता (क्यूआईबी) समूहका लागि छुट्याइएका सेयरमा सुरुवाती १० मिनेटमै दोब्बरभन्दा बढी आवेदन परेको विवरणमा उल्लेख छ। यस समूहका लागि ४ करोड ९० लाख ७ हजार ८२७ कित्ता सेयर छुट्याइएको थियो। आधा घण्टाभन्दा कम समयमै माग छुट्याइएको सेयरको दोब्बर पुगेको थियो।

समग्रमा पहिलो दिन आईपीओ तीन गुणाभन्दा बढी अभिदान भएको छ। क्यूआईबी समूहमा करिब नौ गुणा आवेदन परेको छ भने खुद्रा लगानीकर्ताका लागि छुट्याइएको हिस्सामा ६८ प्रतिशत आवेदन परेको छ।

३० हजार करोड भारुभन्दा बढी जुटाउने लक्ष्य

जियो प्लेटफर्म्सले आईपीओमार्फत ३० हजार २१३ करोड भारतीय रुपैयाँ जुटाउने लक्ष्य राखेको छ। कम्पनीले प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारतीय रुपैयाँसम्म मूल्य दायरा तोकेको छ। शुक्रबारसम्म खुला रहने आईपीओबाट प्राप्त रकम ऋण भुक्तानी तथा रिलायन्स जियो इन्फोकमको विस्तारमा उपयोग गर्ने योजना छ।

यो आईपीओ भारतको हालसम्मकै ठूलो आईपीओ भएको विवरणमा उल्लेख छ। यसअघि यही वर्ष आएको नेसनल स्टक एक्सचेन्ज (एनएसई) को आईपीओ २२ हजार ५६० करोड भारतीय रुपैयाँको थियो।

जियोको आईपीओले भारतीय सेयर बजारमा उतारचढाव कायम रहेका बेला लगानीकर्ताको ध्यान तानेको छ। यस वर्ष निफ्टी–५० सूचकांक १२ प्रतिशतभन्दा बढी घटेको विवरण छ। निफ्टी–५० मा भारतका ५० प्रमुख कम्पनीका सेयर समावेश छन्।

सुस्त बजारमा पनि आईपीओप्रति आकर्षण

ठूला आईपीओको सूचीकरण अपेक्षाअनुसार हुन नसकेको पृष्ठभूमिमा जियोको निष्कासनले बजारमा नयाँ चासो पैदा गरेको छ। १० हजार करोड भारतीय रुपैयाँभन्दा ठूला १३ आईपीओमध्ये आठवटाले सूचीकरणका क्रममा अधिकांश लगानीकर्ताले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न नसकेको विवरणमा उल्लेख छ।

केजरीवाल रिसर्च एन्ड इन्भेस्टमेन्ट सर्भिसेजका अरुण केजरीवालका अनुसार सेयर बजार सुस्त भए पनि आईपीओ बजारमा गतिविधि जारी छ। आकर्षक मूल्यांकन र भविष्यमा व्यवसाय विस्तारको सम्भावना भएका प्रविधि कम्पनीप्रति संस्थागत तथा साना लगानीकर्ता दुवैको चासो बढेको उनको भनाइ छ।

उनका अनुसार कतिपय आईपीओको मूल्य निर्धारण बजारमा पहिले नै सूचीकृत कम्पनीको तुलनामा कम मूल्यांकन तथा कम मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) लाई ध्यानमा राखेर गरिने भएकाले ती लगानीकर्ताका लागि आकर्षक बन्न सक्छन्।

पी/ई रेसियोले कम्पनीको एक रुपैयाँ आम्दानीका लागि लगानीकर्ताले कति मूल्य तिर्न तयार छन् भन्ने देखाउँछ।

ठूला आईपीओको सूचीकरणमा मिश्रित अनुभव

भारतमा पछिल्ला वर्षहरूमा ठूला आईपीओले लगानीकर्तालाई मिश्रित अनुभव दिएका छन्। नेसनल स्टक एक्सचेन्ज (एनएसई): यसै वर्ष सेप्टेम्बरमा सूचीकृत एनएसईको सेयर निष्कासन मूल्यभन्दा ०.८४ प्रतिशत प्रिमियममा कारोबार सुरु भएको थियो। हुन्डाई मोटर्स इन्डिया: सन् २०२४ अक्टोबरमा आएको २७ हजार ८५८ करोड भारतीय रुपैयाँको आईपीओको सेयर प्रतिकित्ता १ हजार ९६० रुपैयाँको निष्कासन मूल्यको तुलनामा १ हजार ९३४ रुपैयाँमा सूचीकृत भएको थियो। भारतीय जीवन बिमा निगम (एलआईसी): सन् २०२२ मेमा सूचीकृत एलआईसीको सेयर ९४९ रुपैयाँको निष्कासन मूल्यको तुलनामा ८६७ रुपैयाँ २० पैसामा कारोबार सुरु भएको थियो।

यो निष्कासन मूल्यभन्दा ८.६२ प्रतिशत कम थियो। पेटीएम: यसको मूल कम्पनी वान९७ कम्युनिकेसन्सको १८ हजार ३०० करोड भारतीय रुपैयाँको आईपीओ सन् २०२१ नोभेम्बरमा आएको थियो। सेयर २ हजार १५० रुपैयाँको निष्कासन मूल्यको तुलनामा १ हजार ९५० रुपैयाँमा सूचीकृत भएको थियो, जुन ९.३ प्रतिशत कम हो।एलजी इलेक्ट्रोनिक्स इन्डिया: सन् २०२५ अक्टोबरमा आएको यसको आईपीओलाई पनि लगानीकर्ताको ठूलो समर्थन प्राप्त भएको थियो। सेयर निष्कासन मूल्यभन्दा ५० प्रतिशत प्रिमियममा सूचीकृत भएको थियो।

जियोको आईपीओमा देखिएको प्रारम्भिक मागले भारतीय पुँजी बजारमा ठूला प्रविधि कम्पनीप्रति लगानीकर्ताको आकर्षण बलियो रहेको संकेत गरेको छ। यद्यपि, आईपीओमा उच्च आवेदन पर्नु मात्रै सेयर सूचीकरणपछि पनि मूल्य बढ्ने सुनिश्चितता भने होइन। कम्पनीको मूल्यांकन, वित्तीय अवस्था र भविष्यको व्यावसायिक विस्तारले यसको दीर्घकालीन प्रदर्शन निर्धारण गर्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima