Skip to content

साउदी अराम्कोको तेल परियोजनामा ड्रोन आक्रमण, एक नेपालीसहित दुईको मृत्यु

nabil
global ime

काठमाडौं । साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयले बुधबार बिहान भएको घटनाबारे विज्ञप्ति जारी गर्दै एक नेपाली र एक प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको हो। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक रहेका छन्।

घटनामा मृत्यु भएका नेपाली नागरिकको नाम, ठेगाना तथा अन्य विवरण भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।

साउदी अराम्को विश्वकै प्रमुख तेल उत्पादक कम्पनीमध्ये एक हो। शैबाह तेल क्षेत्र साउदी अरबको महत्वपूर्ण तेल उत्पादन केन्द्रका रूपमा परिचित छ।

घटनामा नेपाली नागरिकको समेत मृत्यु भएपछि वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका नेपाली श्रमिकको सुरक्षाबारे चासो बढेको छ। मृतक नेपालीको पहिचान र घटनासम्बन्धी थप विवरण भने सार्वजनिक हुन बाँकी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima