डडेल्धुरा । अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च जुटाउन ‘पेन्टिङ’को काम गर्दै आएका छन् । उनले यो कामबाट मासिक २५ हजार बचाउँछन् । १२ कक्षा उत्तीर्ण गरेपछि स्नातक तहको पढाइ पूरा गर्ने लक्ष्यसहित उनले करिब सात महिनादेखि ‘पेन्टिङ’को काम गर्दै आएका छन् ।
घरको आर्थिक अवस्थाका कारण पढाइका लागि परिवारमाथि मात्र निर्भर हुन नसक्ने भएपछि काम गर्न थालेको उनी बताउँछन् । घरको जेठो छोरा रहेका दीपकका भाइ पनि पढ्दै छन् । बुबाआमा खेतीमा संलग्न रहेकाले परिवारको आर्थिक अवस्था सहज छैन । त्यसैले स्नातक तहमा भर्ना भएदेखि नै पढाइ खर्च जुटाउन काम सुरु गरेको उनले सुनाए । अध्ययन र कामलाई सँगसँगै अघि बढाउन सहज नभए पनि आफ्नो भविष्यका लागि दुवैलाई निरन्तरता दिने उनको लक्ष्य छ । दीपकजस्तै अमरगढी –७ का शिवराज भट्टराईले पनि पेन्टिङको कामबाट आम्दानी गर्दै आएका छन् । विगत छ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका उनले सुरुमा खाली समयमा पेन्टिङको काम गर्न थालेका थिए । हाल यसैलाई मुख्य पेसा बनाएका छन् । शिवराजका अनुसार पेन्टिङको कामबाट मासिक २५ हजारदेखि ५० हजारसम्म आम्दानी हुने गरेको छ । उनले एक महिनामा करिब चारदेखि पाँचवटा घरको पेन्टिङ सक्ने गरेको बताए । आठ जनाको समूहमा काम गर्दै आएका उनले आवश्यकताअनुसार अन्य व्यक्तिलाई समेत पेन्टिङको सीप सिकाउने गरेका छन् । यद्यपि, बर्खायाममा भने एकदेखि दुई महिनासम्म काम नपाइने उनको भनाइ छ । यसैगरी, अमरगढी–७, पोखराका २९ वर्षीय चेत विक पनि पेन्टिङको काममा संलग्न छन् । रोजगारीको खोजीमा दुई वर्ष भारत बसेर फर्किएका उनले आफ्नै ठाउँमा पेन्टिङको सीप सिकेर काम सुरु गरेका हुन् । करिब एक वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका विक आफ्नै ठाउँमा श्रम गरेर आम्दानी गर्न पाउँदा खुसी छन् । उनले अन्य युवालाई पनि सम्भव भएसम्म आफ्नै ठाउँमा सीप सिकेर काम गर्न सुझाव दिए । यी युवाको अनुभवले पढाइ र रोजगारीलाई सँगसँगै अघि बढाउन सीपमूलक कामले सहयोग पु¥याउन सक्ने देखाउँछ । स्थानीयस्तरमा सीपमूलक तालिम, रोजगारीका अवसर र युवालाई प्रोत्साहन गर्ने कार्यक्रम विस्तार गर्न सके पढ्दै काम गर्ने वातावरण निर्माण हुनाका साथै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउन पनि मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ ।












प्रतिक्रिया दिनुहोस्