Skip to content
Prabhu

दोस्रो पटक परराष्ट्र मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । लामो समय भूमिगत राजनीतिमार्फत परिवर्तनका लागि होमिएका नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो पटक उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीकारुपमा परराष्ट्र मन्त्रालयको नेतृत्वमा पुगेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा यसअघि उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात र उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिका रहेका थिए । प्रधानमन्त्री दाहालले आज गर्नुभएको मन्त्रिपरिषद् गठनमा उनी उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीमा नियुक्त भएका हुन् । 

उनले गत चैत १९ गतेदेखि गृह मन्त्रालयको नेतृत्व सम्हालेका थिए । त्यसअघि उनी २०६८ सालमा डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री बनेका थिए । हाल राष्ट्रियसभा सदस्यका रूपमा रहेका उनको जन्म २०१७ साल कात्तिक २ गते पिता मेघनारायण र आमा ज्योतिमायाको छोराका रूपमा गोरखाको सिरानचोक गाउँपालिका–८ जौवारी भएको हो ।

उनले विसं २०३१ सालदेखि राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । २०४२ सालमा नेकपा (चौम)को केन्द्रीय सदस्य, २०५१ सालमा नेकपा (एकता केन्द्र)का महासचिव, २०६५ सालमा नेकपा (एकीकृत माओवादी)को उपाध्यक्ष, २०६६ सालमा माओवादी संसदीय दलको उपनेताको भूमिका निर्वाह गरिसिकेका छन् । उनी तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय सदस्य एवं प्रवक्ताको भूमिकामा थिए । 

संविधानसभा सदस्यसमेत रहेका नेता श्रेष्ठ राष्ट्रियसभा सदस्यमा बागमती प्रदेशबाट निर्वाचित भएका हुन् । उहाँका विभिन्न कृति र लेखहरू प्रकाशित छन् । २०३३, २०३६ र २०४२ सालमा पटकपटक उनले जेल जीवन बिताएका छन् । 

ऐतिहासिक सिलिगुढी वार्तादेखि १२ बुँदे सहमति हुँदै जनयुद्घ र जनआन्दोलनबीचको तालमेल, जनआन्दोलनको सञ्चालन र सम्झौता, अनि शान्तिवार्ता, अनेकन महत्वपूर्ण सहमतिहरू र आन्तरिक संविधान निर्माण, संविधानसभाको चुनावदेखि आजभोलि चलिरहेको सत्ता बाँडफाँटको काममा  संयोजन गर्ने कुशल संयोजकका रूपमा उनलाई लिइन्छ ।

तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरु गरेको ६ वर्षपछाडि भारतको सिलगुढीमा वाम पार्टीको संयुक्त बैठक गराउनमा महत्वपूर्ण भूमिका खेलेपछि नेपालको राजनीतिमा उनको एकाएक चर्चा भएको थियो । विसं २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन सुरु गर्न भारतको नयाँदिल्लीमा भएको नेपाली कांग्रेस सहितको तत्कालीन सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी)बीचको वार्ता एवं तिनीहरूबीच भएको १२ बुँदे सहमति गराउनमा उनले खेलेको कुशल संयोजनकारी भूमिकाले उनलाई आन्दोलनकारीबीच थप चर्चामा पु¥याएको थियो । 

अठार वर्ष भूमिगत रहेका नेता श्रेष्ठ २०६५ साल जेठ १५ गते एक कार्यक्रमबाट सार्वजनिक भए । उनले केही समय काठमाडौँ बालाजुस्थित सिद्धार्थ वनस्थली स्कुलका शिक्षक, मूल्याङ्कन मासिकका सम्पादकका रूपमा काम गरे ।  भूमिगत राजनीतिबाट सार्वजनिक भएलगत्तै मन्त्री श्रेष्ठ नेपालको राजनीतिको ‘पेरिफेरि’मा नै छन् । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal