Skip to content
Prabhu

सबैलाई समेट्दै अघि बढ्ने अर्थमन्त्री पुनको प्रतिबद्धता, भने- अर्थतन्त्रमा संकट छैन तर केही क्षेत्रमा दबाब छ

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नभए पनि केही क्षेत्रमा समस्या देखिएको र त्यसका लागि आफूले काम गर्ने बताएका छन् । आज अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि कुरा गर्दै उनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताए । 

“अर्थतन्त्रमा शिथिल छ, अब आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्नेछु । नयाँ गठबन्धनले पनि त्यसैलाई आत्मसात् गरेको छ । नयाँ आशा जगाउनका लागि पहल गर्नेछु । तर त्यो त्यति सहज छैन । विगतका आफ्ना अनुभव र शिक्षाका साथ काम गर्न सकिन्छ । नयाँ आशा जगाउन सक्छौँ,” मन्त्री पुनले भने ।


आफूभन्दा अगाडिको नेतृत्वलाई आलोचना गर्न लाग्नेभन्दा पनि आफूले राम्रो गर्न प्रयत्न गर्ने उहाँले बताउनुभयो । अन्तरमन्त्रालय समन्वयलाई प्राथमिकतामा राख्ने  उनको भनाइ थियो । 


अर्थमन्त्री पुनले कार्यभार सम्हाले लगत्तै पहिले निर्णयका रुपमा जलवायु कोषबाट प्राप्त हुने अनुदान तथा सहुलियतपूर्ण सहायतालाई उत्पादनशील र दिगो पूर्वाधार आयोजनाको ठोस क्रियाकलापमा केन्द्रित गर्ने गरी प्रस्ताव तयार गर्न विषयगत मन्त्रालय र सम्बन्धित दातृ निकायलाई मार्गनिर्देश गर्ने निर्णय गरेका छन् ।  त्यस्तै ग्रीन क्लाइमेट फण्डको पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने निर्णय उनले गरेका छन् । 

साथै राजस्व संकलन लक्ष्यअनुरुप नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढी भएको उनको भनाइ थियो । उनले आगामी महिनादेखि राजस्व संकलनको गतिलाई दोब्बरले बढाउन  सकिने आधार आफूले देखेको र सोही अनुसार काम गर्ने समेत प्रतिबद्धता जनाए । 

“अर्थतन्त्रमा संकटमा नै त छैन । आर्थिक गतिविधि केही क्षेत्रमा  कम भएका छन् । हाम्रा अगाडि चुनौतीहरु छन् । ती चुनौतीलाई सम्बोधन गर्न आर्थिक समृद्धि र सुशासन, सामाजिक न्याय कायम गर्ने गरी प्राथमिकता निर्धारण गरिनेछ”, उनले भने । 


उनले नयाँ सत्ता गठबन्धनले पनि त्यसलाई आत्मसाथ गरेको र सरकारको प्राथमिकता र प्रधानमन्त्रीको निर्देशनअनुसार सबै क्षेत्रमा आशा जगाउने गरी आफूले काम गर्ने समेत बताए । उनले आफू १२ वर्ष अगाडि अर्थमन्त्री हुँदा पनि घरजग्गा र शेयर बजारलगायतमा समस्या रहेको र त्यसका लागि काम गरेको स्मरण  गर्दै यसपटक पनि सार्वजनिक वित्तको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले काम गर्ने प्रतिबद्धता  जनाए  ।

उनले अर्थमन्त्रालयमा विगतमा भएका असल अभ्यासलाई निरन्तरता दिँदै अन्तरमन्त्रालयसँगको सहकार्यमा अघि बढ्ने बताए । “मैले विकासे मन्त्रालयमा पनि काम गरेकाले पनि धरै जानकारी छ । हाम्रो खर्च गर्ने क्षमता पनि कमजोर छ । कतिपय अवस्थामा योजना बिनाका आयोजनामा बजेट बिनियोजन गर्दा पनि खर्च कम भएको छ त्यस्ता समस्या समाधान गर्नुपर्छ”, उनले भने । 

उनले गरिबीको रेखामुनी रहेको जनसंख्या करिब २० प्रतिशत रहेको भन्दै त्यसका लागि पनि गर्ने बताए । भूकम्प र कोरोना महामारीका कारण चार प्रतिशतभन्दा बढी जनता गरिबीको रेखामुनी रहेको भन्दै उनले गरिबी न्यूनिकरणको क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । 

उनले शेयर बजारमा देखिएको समस्या समाधानमा पनि आफू काम गर्ने बताए । शेयर बजारमा रहेका ६० लाख ग्राहकको हितलाई ध्यानमा राखेर काम गर्ने उनको भनाइ थियो । 

विसं २०६४ मा संविधानसभा सदस्य बनेका पुन  २०६७ मा शान्ति तथा पुनःनिर्माणमन्त्री मन्त्री भएका थिए । विसं २०६८ मा अर्थमन्त्री बन्नुभए पनि उहाँले वार्षिक बजेट ल्याउन भने पाएका थिएनन् । उनी २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत बनेका थिए । 

विसं २०५३ मा तत्कालीन नेकपा माओवादीको रोल्पा र प्युठान जिल्ला समिति सचिव रहेका नेता पुन हाल नेकपा माओवादी केन्द्रको उपमहासचिव छन् । रोल्पा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित उनले कानून संकायमा स्नातक गरेका छन् । उनी विसं २०२८ जेठ १८ गते रोल्पा नगरपालिका–४ माडीचौरमा जन्मिएका थिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal