Skip to content
Prabhu

जेठ महिनामा ४१ अर्ब १९ करोड राजस्व संकलन

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व संकलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड राजस्व संकलन भएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार गत वर्ष सोही अवधिमा ३७ अर्ब रुपैयाँ संकलन भएको थियो । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो । चालु आवको जेठ मसान्तसम्म चार खर्ब ४८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

यो गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ६४ प्रतिशतले बढी हो । गत वर्ष जेठ मसान्तसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब रुपैयाँ थियो । गत वर्षभन्दा चालु आवको यो अवधिसम्म ४० अर्ब रुपैयाँले राजस्व संकलनमा वृद्धि भएको विभागका महानिर्देशक शिवलाल तिवारीले जानकारी दिए ।

आयकर (भाडा र ब्याजसमेत) बाट २ खर्ब ३२ अर्ब रुपैयाँ, मूल्य अभिवृद्धिकर (आन्तरिक)बाट एक खर्ब १२ अर्ब रुपैयाँ र अन्तःशुल्कबाट ९५ अर्ब रुपैयाँ संकलन भएको छ । महानिर्देशक तिवारीका अनुसार स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब राजस्व उठेको छ । हालसम्म लक्ष्यको ७८ दशमलव पाँच प्रतिशत रकम असुली भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा वृद्धि भए पनि सरकारले चालु आवमा निर्धारण गरेको लक्ष्यमा भने पुग्न सकेको छैन । राजस्व योगदानमा करदाता कार्यालयहरूमध्येको ठूला करदाता कार्यालयको हिस्सा करिब ४० प्रतिशत छ । यो कार्यालयले एक खर्ब ७५ अर्ब रुपैयाँ संकलन गरेको छ । ठूला करदाता कार्यालयको राजस्व असुली लक्ष्य २ खर्ब ३८ अर्ब रुपैयाँ थियो ।

वार्षिक एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाताबाट ठूला करदाता कार्यालयले कर संकलन गर्दै आएको छ । एक अर्बभन्दा बढीको कारोबार गर्ने करदाता सङ्ख्या पाँच सय ४५ छन् । कोरोना महामारीलगायत विविध कारणले केही वर्षयता अर्थतन्त्रमा आएको सुस्तताका कारण राजस्व संकलनमा कमी आए पनि चालु आवको उत्तराद्धमा अर्थतन्त्रमा भएको सुधारले राजस्व संकलनमा वृद्धि भएको महानिर्देशक तिवारी बताए ।

अन्तःशुल्कमा बढाइएको निगरानी, धितोपत्र बजार र घरजग्गा व्यवसाय कारोबारमा भएको वृद्धि तथा पुँजीगत खर्चमा भएको वृद्धिले पनि राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए ।रासस

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal