Skip to content

बैंकहरूको ब्याज आम्दानी ५.२ प्रतिशतले घट्यो, २० मध्ये १६ बैंकको आम्दानीमा गिरावट

nabil
global ime
काठमाडौं । वाणिज्य बैंकहरूको ब्याज आम्दानीमा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २० वाणिज्य बैंकले कुल १ खर्ब १३ अर्ब २४ करोड ८१ लाख ९९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका छन् ।
यो गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा ५.२ प्रतिशतले घटेको हो । रकममा वाणिज्य बैंकको ब्याज आम्दानी ६ अर्ब २० करोड ९२ लाख रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूले कुल १ खर्ब १९ अर्ब ४५ करोड ७४ लाख रुपैयाँ ब्याज आम्दानी गरेका थिए ।
समीक्षा अवधिमा २० वाणिज्य बैंकमध्ये १६ वटाको ब्याज आम्दानी घटेको छ भने ४ बैंकको आम्दानीमा वृद्धि भएको छ । ब्याज आम्दानी घट्ने बैंकमध्ये सबैभन्दा ठूलो गिरावट प्रतिशतका आधारमा प्रभु बैंकको देखिएको छ । बैंकको ब्याज आम्दानी १८.८ प्रतिशतले घटेर ५ अर्ब २४ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ ।
यसैगरी, एनआईसी एशिया बैंकको ब्याज आम्दानी १६.८१ प्रतिशतले घटेर ५ अर्ब २७ करोड १ लाख रुपैयाँ कायम भएको छ । कुमारी बैंकको ब्याज आम्दानी १५.६८ प्रतिशतले घटेर ६ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ । हिमालयन बैंकको १२.१३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ११.०७ प्रतिशत र सिटिजन्स बैंकको १०.६५ प्रतिशतले ब्याज आम्दानी घटेको छ ।
त्यसैगरी, प्राइम कमर्सियल बैंकको ब्याज आम्दानी १०.०३ प्रतिशत, नेपाल एसबीआई बैंकको ७ प्रतिशत, एभरेष्ट बैंकको ६.६४ प्रतिशत, सानिमा बैंकको ६.२९ प्रतिशत र कृषि विकास बैंकको ५.६ प्रतिशतले घटेको छ ।
यता, राष्ट्रिय वाणिज्य बैंकले भने ब्याज आम्दानीमा उल्लेख्य सुधार गरेको छ । बैंकको ब्याज आम्दानी २६.९२ प्रतिशतले बढेर ९ अर्ब २ करोड ४२ लाख रुपैयाँ पुगेको छ । रकमका आधारमा पनि सबैभन्दा बढी वृद्धि राष्ट्रिय वाणिज्य बैंककै रहेको छ ।
माछापुच्छ्रे बैंकको ब्याज आम्दानी १.५६ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । नेपाल बैंकको ०.२ प्रतिशत, सिद्धार्थ बैंकको ०.५६ प्रतिशत र रकमका आधारमा सामान्य वृद्धि भएको छ ।
कुल ब्याज आम्दानीका आधारमा ग्लोबल आईएमई बैंक सबैभन्दा अगाडि रहेको छ । बैंकले समीक्षा अवधिमा १० अर्ब १३ करोड ५५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । दोस्रो स्थानमा रहेको नबिल बैंकले ९ अर्ब ६१ करोड १८ लाख रुपैयाँ आम्दानी गरेको छ भने राष्ट्रिय वाणिज्य बैंक ९ अर्ब २ करोड ४२ लाख रुपैयाँसहित तेस्रो स्थानमा छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T