Skip to content
Prabhu

मानपुर–डेडगाउँ–बुलिङटार सडक ‘ट्र्याक’ खुलेको २९ वर्षपछि कालोपत्रे गरिँदै

तनहुँ । गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मङ्गलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

‘ट्रयाक’ खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिए । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उनले बताए । 

जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्रे हुनेछ । उनले भने, ‘पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ ।’ अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्रे गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताए। कालोपत्रे कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ । विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो ।

उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ रुपैयाँको लागतमा कालोपत्रे सुरु गरिएको आचार्यले जानकारी दिए । ३५ करोड १४ लाख ७४ हजार एक सय नौ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौंडास्थित सपना निर्माण सेवाले १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रुपैयाँमा कालोपत्रेको ठेक्का पाएको थियो । उक्त सडकको चौडाइ सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ । 

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रेको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal