Skip to content
Prabhu

तारकेश्वरले तेस्रोलिङ्गीलाई मासिक ५ हजार प्रोत्साहन भत्ता दिने

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकाले नगरभित्र स्थायी रुपमा बसोबास गर्ने तेस्रोलिङ्गीलाई मासिक ५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । तारकेश्वरले तेस्रोलिङ्गी भनेर कानुनसम्मत पहिचान भएका स्थायी नगरवासीलाई प्रोत्साहनस्वरुप आर्थिक वर्ष २०८१र८२ देखि मासिक ५ हजार प्रदान गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले संविधानले गरेको परिकल्पनाअनुसार तेस्रोलिङ्गी समुदायलाई प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरिएको जानकारी दिए । नेपालको संविधानको धारा ३८ र धारा ४२ मा राज्यका निकायमा समान सहभागिता र यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई विभेद गर्न नहुने उल्लेख गरिएको छ ।

संविधानले परिकल्पना गरेअनुरुप नगरपालिकाले उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको नगरप्रमुख महर्जनले बताए । लैङ्गिक हिंसा, घरेलु हिंसा, महिला हिंसालगायत सबै किसिमका हिंसाविरुद्ध सरोकारभएकाको सहभागितामा विभिन्न कार्यक्रम सञ्चालन गरी हिंसामुक्त समाज निर्माण गरिने उनको भनाइ छ ।

नगरप्रमुख महर्जनले पिछडिएका, एकल तथा दलित महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तीकरणका लागि समूह, समिति तथा संस्था गठन गरी व्यावसायिक विकास, सीपमूलक तालिमलगायत कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal