Skip to content
Prabhu

४५ वर्षमा ४ करोड ३६ लाखको आँखा उपचार

nabil

नारायणगढ । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ ।

विसं २०३५ मा स्थापना भएको सङ्घले गएको ४५ वर्षमा ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ । 

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विभिन्न देशमा रहेका नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा सम्बन्धित देशमा रहेका नेपाली श्रमिकका लागि सोही देशमै आँखा उपचार सेवा प्रवाह गर्दै आएको बताए ।

सङ्घले थाइल्यान्ड, बङ्गलादेश, ओमान, म्यान्मा, कतारजस्ता देशमा रहेका नेपाली श्रमिकलाई आँखा उपचार सेवा प्रवाह गर्ने र विदेशीलाइ नेपालमा आँखा उपचारका लागि आकर्षित गर्ने लक्ष्यसहित आँखा शिविर सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाएकोे जनाएको छ ।  बङ्गलादेशमा पहिलो चरणमा आँखा शिविर सम्पन्न भइसकेको सङ्घका अध्यक्ष पन्तले बताए ।

नेपाल सरकार तथा विभिन्न विकास साझेदारसँगको सहकार्यमा सन् २०३० सम्ममा हरेक स्थानीय तहसम्म आँखा उपचार सेवा विस्तार गर्ने सङ्घको लक्ष्य छ ।  नेपालबाट उपचारपछि निको हुने अन्धोपनको समस्या निवारण गर्ने लक्ष्य रहेको अध्यक्ष डा पन्तले बताए । 

उनका अनुसार सन् १९८१ मा गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था जनसङ्ख्याको आधारमा ०.८४ प्रतिशत रहेको थियो । त्यसको ठीक ४० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले अन्धोपनको समस्या घटेर ०.२८ प्रतिशतमा झरेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal