Skip to content
Prabhu

५ वर्षमा पहिलोपटक घट्यो हुलास स्टिलको व्यापार, एकै वर्ष ३ अर्ब बढीको गिरावट

काठमाडौं । हुलास स्टिल इन्डष्ट्रिजको व्यापार एकैवर्ष सवा ३ अर्ब रुपैयाँले घटेको छ । कम्पनीको सन् २०२२ को तुलनामा सन् २०२३ मा ३ अर्ब २० करोड रुपैयाँले व्यापार घटेको हो ।

कम्पनीको व्यापार पछिल्लो पाँच वर्षको अवधिमा पहिलो पटक ऋणात्मक भएको हो । सन् २०१९ देखि २०२२ सम्म लगातार रुपमा बढेको कम्पनीको व्यापार २०२३ मा घटेको हो । कम्पनीले सन् २०२२ मा १५ अर्ब ६५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले १२ अर्ब ४४ करोड ८० लाख रुपैयाँको मात्रै व्यापार गरेको देखिएको छ । अर्थतन्त्रमा देखिएको संकुचनले मागमा कमी आएको कारण व्यापार घटेको हो । मुलास स्थिल इन्डष्ट्रिज हितेश र हिमांशु गोल्छाले नेतृत्व गरिरहेको दिवाकर गोल्छा कर्पोरेसनले सञ्चालन गरिरहेको छ ।

हुलास स्टिलले सन् २०२१ मा नै ११ अर्ब ४७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । पछिल्लो समय लगातार व्यापर बढाउँदै गएको यो कम्पनीको व्यापार सन् २०२३ मा भने गिरवट आएको देखिएको छ । त्यस्तै, कम्पनीले सन् २०२० मा ६ अर्ब १४ करोड ४९ लाख रुपैयाँ र सन् २०१९ मा ८ अर्ब ५४ करोड ६७ लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले ८ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको छ । सन् १९८१ मा स्थापना भएको कम्पनीमा चार्नले डेभलपमेन्ट कम्पनीको ५० प्रतिशत हिस्सा छ । त्यसबाहेक कम्पनीमा गोल्छा समूहका सदस्य जयश्री गोल्छाको २१ प्रतिशत, हिमांशु गोल्छाको ६ प्रतिशत, हितेश गोल्छाको ६ प्रतिशत र हुलास मेटलको ६ प्रतिशत स्वामित्व छ ।

कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य सामग्री उत्पादन गरी ‘हुलास’ ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीले स्टिल सिट्स, पाइपलगायतका विभिन्न प्रकारका सामग्री उत्पादन गर्दै आएको छ । कम्पनीले विशेष गरी एचआर स्टिल सिट्स कच्चा पदार्थ आयात गरी स्टिलजन्य सामग्री उत्पादन तथा बिक्री गर्दै आएको छ ।

हुलास स्टिल इन्डष्ट्रिजले जिन्क, आल्मुनियम र सीआर सिट्स पनि आयात गर्दै आएको छ । वार्षिक ४ लाख ८१ हजार ७६२ टन स्टिलजन्य सामग्री उत्पादन गर्ने कम्पनीको क्षमता छ । कम्पनीले वार्षिक ५० हजार टन पाइप र ३ लाख ९४ हजार ७ सय टन सिट्ससहित आल्मुनियम स्ट्रक्चर, वेल्डेड स्ट्रक्चर, पाइप फिटिङ आदि उत्पादन गर्दै आएको छ । उक्त सामग्रीमध्ये ९२ प्रतिशत हिस्सा पाइप र सिट्सको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal