Skip to content
Prabhu

काठमाडौं–तराई द्रुतमार्गअन्तर्गत लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग आयोजनाअन्तर्गत लेनडाँडामा निर्माणाधित सुरुङ मार्गको ‘ब्रेक थ्रु’ भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको आयोजना अन्तर्गतको सो सुरुङ मार्गको आज ‘ब्रेक थ्रु’ भएको हो ।

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये १ हजार ६१२ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्ग छिचोलिएको नेपाली सेनाले जनाएको छ । प्रधान सेनापति प्रभुराम शर्माले भर्चुअल माध्यमबाट सुरुङमार्ग छिचोल्ने कार्यक्रमको अवलोकन गरेका छन् ।

सो अवसरमा प्रधान सेनापति शर्माले तोकिएको समयमा नै सुरुङमार्गहरु छिचोलिने क्रममा रहेको भन्दै खुसी व्यक्त गरे । उनले सरकारबाट नेपाली सेनालाई जिम्मेवारी दिइएको फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजना निर्माणमा खटिएका सम्पूर्ण निकाय तथा व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आयोजनामा कार्यरत व्यक्तिहरूको लगनशीलता, मेहनत र कार्य दक्षताको प्रशंसा गर्दै तोकिएकै समयमा आयोजना सम्पन्न गर्नसमेत निर्देशन दिएका छन् । सो अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देललगायत नेपाली सेनाका रथीहरूको उपस्थिति रहेको थियो ।

यस्तै, गत जेठ ४ गते लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ किलोमिटर ६३३ मिटर लम्बाइको सुरुङमार्ग र गत जेठ ११ गते धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये १ किलोमिटर ६५३ मिटर लम्बाइ रहेको निजगढबाट काठमाडौंतर्फ आउने सुरुङमार्गहरु छिचोलिएको थियो ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal