Skip to content

दूध बिक्री गरेर मासिक एक लाख कमाइ

nabil bank

बागलुङ । बसाइँसराइले रित्तिँदै गएको छिस्तिको फुर्केसल्ला गाउँमा आँगनभरि मौरीका घार, गोठभरि भैँसी र पाडापाडीपालन गरेर बसेको छ रघुनाथ पौडेलको परिवार ।जैमिनी नगरपालिका–८ फुर्केसल्ला पुग्दा ६१ वर्षीय रघुनाथ पौडेल र उनका ३२ वर्षीय छोरा राजन गाईभैँसीको स्याहारसुसारमा व्यस्त थिए । बाउछोरा मिलेर चार वर्षयता दूध र मह उत्पादन गर्दै आएका छन् । उनीहरु गाउँकै उदाहरणीय परिवारका रुपमा चिनिन्छन् ।

गाउँमा बाँदर आतंक भएपछि अन्नबालीसमेत कम उत्पादन हुन थाल्यो । परम्परागत कृषि कर्म गर्दै आएका रघुनाथले छोराकै सहायतामा कृषि र पशुपालनलाई अहिले व्यावसायिक बनाउन सफल भएका छन् । ‘चार वर्ष अगाडिसम्म छोरा चितवनमा माछापालन गरेर बस्थ्यो, घरमा दुई चार वटा मौरीका घार र एउटा लैनो भैँसी थियो । कोभिड–१९ पछि छोरा घर फर्कियो र व्यावसायिक पशुपालनमा लाग्यौँ’, रघुनाथले भने, ‘अहिले बाउछोरा मिलेर छ वटा मुर्रा क्रस जातका भैँसी र तीन वटा गाईपालन गरेका छौँ, २६ वटा मौरीका घार छन् । मौरीका घार वृद्धि गरेर ५० पु¥याउने तयारीमा छौँ ।’ उनले अन्न कुटानी पिसनीका लागि घरमै मिल समेत राखेका छन् ।

चितवनमा जग्गा भाडामा लिएर माछापालन गर्दै आएका राजनलाई गाउँका अन्य युवा झैँ विदेश जान मन लागेन । बुवाको परम्परागत कृषि र पशुपालनलाई व्यावसायिक बनाउने काममा लागे । अहिले उनीहरुले दैनिक ४० लिटर दूध बागलुङ बजारमा पठाउछन् । उनीहरुले छिस्ती पाडापाडी तथा भैँसीपालन फार्म सञ्चालन गर्दै आएका छन् । फार्ममा अहिले छ वटा पाडी, एक पाडो र दुई गाईका बाच्छा हुर्कंदै छन् ।

‘कोरोना अगाडि म चितवनमै माछापालन गरेर बस्थेँ, अरुको जग्गा भाडामा लिएर काम गरेको थिएँ । कोभिडका बेला घाटा लाग्यो त्यसपछि घरमै आएर बुबाले गरिरहनुभएको कामलाई व्यावसायिकता दिएको हुँ”, छोरा राजनले भने । फार्ममा एउटा स्थानीय जातको भैँसीसमेत छ । सुक्खा मौसममा ४० लिटर दूध घाँस प्रशस्त भएका बेला ५० लिटरभन्दा बढी दूध बजार लैजाने गरेको उनले सुनाए ।

बागलुङ बजारको भैरव डेरीले प्रतिलिटर ९५ रुपैयाँमा दूध लिने गरेको पौडेल बताउछन् । अहिले हुर्कंदै गरेको पाडापाडी बढेपछि दूध उत्पादन एक सय लिटर पुग्ने उनले बताए । उन्नत जातको भैँसी र गाईबाट जन्मेका पाडापाडी संरक्षण गर्नसके महँगो मूल्य हालेर भैँसी र गाई खरिद गर्न नपर्ने उनको भनाइ छ ।

बाँदरको आतंक बढेपछि उनीहरुले गाउँको १० रोपनी जग्गामा व्यावसायिक बहुवर्षे घाँसखेती गरे । घाँसमा आधारित पशुपालन भएकाले मुनाफा बढी हुने बताउँदै मासिक १ लाख देखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ । पौडेलको घरमा २६ घार मौरीले व्यावसायिक उत्पादन दिइरहेको छ । वर्षमा एकदेखि डेढ क्विन्टल मह उत्पादन गरी बिक्री गर्दा वार्षिक दुई लाखभन्दा बढी आम्दानी महबाटै हुने गरेको छ ।

अर्गानिक मह भएका कारण घरैबाट एक हजार पाँच सय रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको रघुनाथ पौडेलले बताए । ‘विदेश गए पनि दुखै हो, बाँझो जग्गामा घाँसखेती गरेका छौँ, त्यही घाँसले गाईभैँसीपालन हुन्छ । मौरीलाई हेरचाह मात्रै गरे पुग्यो’, उनले भने । कृषि ज्ञानकेन्द्र बागलुङले मौरीका घार थप्न ५० हजार रुपैयाँ अनुदान समेत दिएको छ ।

उनीहरुले दुई वटा प्लाष्टिक टनेलमा टमाटर र काउलीखेती समेत गरेका छन् । बाउछोराको काममा सिङ्गो परिवारका सदस्यले साथ दिएका छन् । कक्षा १२ सम्म अध्ययन गरेका राजन पौडेल सकेसम्म विदेश नजाने र यही कृषि कर्मलाई वृद्धि गर्दै जाने बताउछन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गोठ सुधारका लागि एक लाख २० हजार र पाडापाडी संरक्षण गर्न रु ४० हजार प्रदान गरेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा.ऋषिराम सापकोटाले बताए । १० रोपनी घाँसखेतीका लागि प्रतिरोपनी तीन हजारका दरले ३० हजार अनुदान दिइएको सापकोटाले जानकारी दिए ।

‘पशु विज्ञ केन्द्रले चालु आर्थिक वर्षमा उत्पादनका आधारमा मासु, दूधदेखि घाँससम्ममा अनुदान दिएको छ, व्यावसायिक रुपमा पशुपालनमा लागेको किसानलाई घाँस उत्पादन, पाडापाडी संरक्षण गर्न सहयोग गरेका छौँ’, डा सापकोटाले भने, ‘अनुदानले पूर्वाधार मात्रै बनाउँदा परिणाम देखिएन, अहिले उत्पादनका आधारमा अनुदान दिँदा असली किसान उत्साहित भएका छन् ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi