Skip to content
Prabhu

सामाजिक सुरक्षा कोषमा ५७ अर्बभन्दा बढी रकम संकलन, ९ अर्ब ५९ करोड रकम दाबी भुक्तानी

काठमाडौं । सामाजिक सुरक्षा कोषमा पौने ५८ अर्ब रकम संकलन भएको छ । कोषको तथ्यांकअनुसार अहिले सामाजिक सुरक्षा कोषमा ५७ अर्ब ७९ करोड ८९ लाख रुपैयाँ संकलन
भएको हो ।

१४ लाख ६७ हजार ३ सय ३६ योगदानकर्ताबाट उक्त रकम संकलन भएको हो । कोष विसं २०७५ मंसिर ११ गतेदेखि कार्यान्वयनमा आएको थियो । कोषले २०७६ साउन १ गतेदेखि योगदान रकम संकलन गर्न थालेको थियो । कोषले रकम संकलन गर्न थालेको करिब ४ वर्ष पुग्न लाग्यो ।

गत वैशाखसम्म योेगदान रकमबापत ५५ अर्ब ३ करोड रुपैयाँ संकलन भएको थियो । चालु आर्थिक वर्षको ११ महिनामा मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी रकम संकलन भएको छ । असार १९ गतेसम्म कोषमा १९ हजार १ सय ५६ रोजगारदाता सूचीकृत भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।

यस अवधिमा कोषले श्रमिकलाई कुल ९ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । समीक्षा अवधिमा कोषले अवकाशमा सबैभन्दा धेरै दाबी रकम भुक्तानी गरेको छ । जसमा कोषले ८ अर्ब १४ करोड २० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

यसैगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्वबापत १ अर्ब १७ करोड ६४ लाख रुपैयाँ दावी भुक्तानी गरेको कोषले १५ करोड ११ लाख रुपैयाँ आश्रित परिवार सुरक्षा वापत भुक्तनी गरेको छ । कोषले १२ करोड ९९ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षाबापत दाबी भुक्तानी गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअनुसार मासिक पारिश्रमिक भुक्तानी गर्दा आधारभूत पारिश्रमिकको ३१ प्रतिशत रकममध्ये रोजगारदाताको तर्फबाट २० प्रतिशत र श्रमिकको तर्फबाट ११ प्रतिशत योगदान गर्नुपर्ने व्यवस्था छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal