Skip to content
Prabhu

पुनःनिर्माण सम्पन्न भए पनि काष्ठमण्डप अवलोकनका लागि अझै खुलेन

काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरुपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौं महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ ।

प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताए । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो ।

काष्ठमण्डप पुनःनिर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले बेहोर्ने निर्णय भएको थियो । यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो ।

सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते ५ करोड रुपैयाँ , २०७६ माघ ९ गते ५ करोड र २०७८ असार १६ गते १ करोड रुपैयाँ उपलब्ध गराएको प्रमुख राईले बताए ।

पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको ११ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा पुनःनिर्माण गरिएको हो ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal