Skip to content
Prabhu

दोभानदेखि सान्थाक्रासम्मको ९ किलोमिटर सडक कालोपत्रे हुने

 ताप्लेजुङ । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्रे हुने भएको हो  । 

मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्रे गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम ९डम्बर० ले जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच  तीन करोड ३७ लाख रुपैयाँको ठेक्का सम्झौता भएको छ ।  

चालु आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताए । आगामी आवभित्र सडक कालोपत्रे गरिसक्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।

दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उनले बताए । 

स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ ।

मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ । यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal