Skip to content
Prabhu

नाकामा अलपत्र परेकालाई वाणिज्य संघले सहयोग गर्ने

महेन्द्रनगर ।  कञ्चनपुर उद्योग वाणिज्य संघले यहाँको गड्डाचौकी सीमा क्षेत्रमा अलपत्र परेर उद्धार गरिएका यात्रुलाई गन्तव्यमा पुर्‍याउन आवश्यक सहयोग गर्ने भएको छ ।

यही फागुन २१ देखि ३० गतेसम्म वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको प्रति टिकटबाट  पाँच रुपैयाँ सामाजिक काममा खर्चिने संघले निर्णय भएको छ ।

सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले टिकटबाट छुट्याइएको रकम सामाजिक कार्यअन्तर्गत पहिलो चरणमा गड्डाचौकीलगायत सीमा क्षेत्रमा नेपाल–भारत आवातजावतका क्रममा अलपत्र परेर उद्धार गरिएका र समस्यामा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन सहयोग गर्ने बताए ।

‘सीमामा अलपत्र पर्नेलाई उद्धार सुरक्षा निकायबाट हुन्छ’, मल्लले भने, ‘कहिलेकाहीँ एक छाक खुवाएर एक रात बास दिनुपर्ने अवस्थासमेत आउने भएकाले आगामी दिनमा सो विषयमा सङ्घले पनि सहयोग गर्ने निर्णय भएको छ ।’ उनले सामाजिक क्षेत्रका लागि छुट्याइएको रकमले यहाँका आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति, अनाथालय र वद्धाश्रममासमेत गर्ने बताए ।

‘कृषि उत्पादन र स्वरोजगार, आर्थिक समृद्धिको आधार’ भन्ने नारका साथ सुरु हुन लागेको महोत्सवको १५ संस्करणमा सर्वसाधारणका लागि प्रतिव्यक्ति रु एक सय र विद्यार्थीका लागि प्रतिटिकट रु ५० तोकिएको छ ।

महोत्सव अवधिमा स्थानीय उत्पादन, वस्तु तथा सेवालाई मुख्य आकर्षणका रुपमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । साथै लघुउद्यम, अटो प्रदर्शनी, कृषि, बाल उद्यानसहित सुदूरपश्चिमको कला संस्कृति जर्गेनामासमेत सङ्घ लाग्ने जनाएको छ । महोत्सव अवधिमा तीन लाख दर्शकले अवलोकन गर्नुका साथै पाँच करोड रुपैयाँको करोबार हुने आयोजकको अपेक्षा छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal