Skip to content
Prabhu

भरतपुरमा एकै दिन तीन आयोजना उद्घाटन

चितवन । भौतिक पूर्वाधारमा द्रूत विकास गर्दै आइरहेको भरतपुर महानगरपालिकाले एकै दिन तीन आयोजनाको उद्घाटन गरेको छ । सङ्घीय र प्रदेशसँग समन्वय गर्दै ठूलो मात्रामा विकास बजेट भित्र्याएको भरतपुरले तीनवटा सरकारको समन्वयमा निर्माण भएका आयोजना उद्घान गरेको हो ।

 

वडा कार्यालय भवन, १६ शय्याको अस्पताल र घरेलु प्रदर्शनी केन्द्रको महानगर प्रमुख रेनु दाहालले आज उद्घाटन गरिन् । उद्घाटन समारोहमा प्रमुख दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशीलताको विकास रहेको बताए । भरतपुरमा पूर्वाधार विकासको क्षेत्रमा धेरै काम भएको भन्दै उनले अबको योजना महानगरबासीलाई उद्यमी बनाउने रहेको बताए । उनले भने, ‘स्वदेशमा नै रोजगारी सृजना गर्न महानगरले घरेलु उद्योगको प्रवर्द्धन गर्दै आएको छ । अबका दिनमा उद्यमशीलतालाई थप प्रोत्साहन गर्दै जानेछौँ ।’

 

समय–समयमा विभिन्न किसिमका तालिम प्रदान गर्दै आइरहेको बताउँदै उनले समग्र महानगरबासीको आर्थिक विकासमा प्रदर्शनी केन्द्रले, स्वास्थ्य क्षेत्रमा अस्पतालले र स्थानीय जनतालाई अन्य सेवा वडा कार्यालयले दिने बताए।

 

कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारीले जनताको अधिकारलाई थप बलियो बनाउन तीनवटा योजनाको एकैपटक उद्घाटन गरिएको बताए। महानगरपालिकाले स्थानीय सरकारका रुपमा आम जनताको भावना र मर्मअनुसार काम गर्दै आएको उनको भनाइ थियो । दुईतले वडा कार्यालय भवन निर्माणका लागि एक करोड ३२ लाख रुपैयाँ खर्च भएको वडाअध्यक्ष विष्णुराज महतोले जानकारी दिए। 

यसैगरी, बागमती प्रदेश सरकारको  एक करोड ५५ लाख रुपैयाँ सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । एसियाली विकास बैङ्क/जेएएफपीआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत  एक करोड ६६ लाख रुपैयाँको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो । यसको स्वामित्व आजै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले बोलेका थिए।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal