Skip to content
Prabhu

युएसएडद्वारा २४ वर्षमा करिब २ खर्ब नेपाललाई सहयोग

काठमाडौं । संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (युएसएड) ले सन् २००० देखि नेपालको विकासका लागि विभिन्न क्षेत्रमा रु एक खर्ब ९६ अर्ब सहयोग गरेको छ । युएसएडले नेपालको स्वास्थ्य, शिक्षा, पूर्वाधार, कृषि, आर्थिक वृद्धि, महिला तथा बालबालिकाको शसक्तिकरण, मानवीय सहायता, सुशासन, वातावरण, नागरिक समाज र सञ्चारका क्षेत्रमा डेढ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग प्रदान गरेको जनाएको छ ।

सन् २०२३ मा स्वास्थ्य, शिक्षा, र आर्थिक वृद्धिका कार्यक्रममार्फत १० लाखभन्दा बढी महिलाको जीवनमा प्रत्यक्ष योगदान पुर्‍याएको र थप ५० लाख महिला माझ अप्रत्यक्ष रुपमा आमसञ्चार माध्यमका अभियानलगायत गतिविधि पुगेको युएसएडको तथ्याङ्क छ । युएसएडद्वारा आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा कार्यवाहक मिसन निर्देशक बेथ होगनले युएसएडले नेपाल र नेपाली जनतासँग सात दशक लामो साझेदारीका क्रममा गरिएका सहयोग र योगदानबारे जानकारी गराए । साथै उनले नेपाल सरकारको आवश्यकता र प्राथमिकताअनुसार युएसएडले अनुदान सहयोग पु(याउँदै आएको उल्लेख गरे ।

युएसएड अन्तर्राष्ट्रिय विकासको नेतृत्व गर्ने अमेरिकाको सरकारी निकाय हो । युएसएडले नेपाललगायत सयभन्दा बढी मुलुकमा काम गर्दछ । युएसएड र नेपालबीचको साझेदारी ६३ वर्षभन्दा लामो छ । युएसएडको सुरुवाती दिनदेखिको सहयोगका कारण दक्षिणी तराई क्षेत्रबाट मलेरिया उन्मूलन भएको, कुनै समय बसोबास गर्न नसकिने मुलुकका भूभागमा कृषि फस्टाउन योग्य भएको, साक्षरता बढेको, औसत आयु दोब्बर भएको, बाल मृत्युदर उल्लेखनीय रुपमा घटेको, शान्ति र लोकतन्त्रमा सहजीकरण भएको र कोभिड–१९ सङ्कटको समयमा खोप, आवश्यक सामग्री र प्राविधिक सहायता प्राप्त भएको युएसएडले जनाएको छ ।

युएसएडको नेपालस्थित कार्यालयका विभिन्न विभागीय अधिकारीहरुका अनुसार युएसएडले सन् २०२३ मा नेपालमा पाँच वर्ष मुनिका ११ लाखभन्दा बढी बालबालिकालाई पोषणसम्बन्धी कार्यक्रममार्फत सहयोग गरेको, बाल विवाह र बालबालिकाको जबरजस्ती हुने विवाह कम गर्न र बालिकाका लागि शिक्षा प्रवर्द्धन गर्न दुई हजारभन्दा बढी सामुदायिक अगुवा तथा सरोकारवालाहरु समाधानका उपायमा संलग्न भएका थिए ।

यसै अवधिमा युएसएडको सहयोगमा किसान र उद्यमीले छ करोड ३० लाख अमेरिकी डलर मूल्यको कृषि उत्पादनको बिक्री गर्न सफल भएको जनाईएको छ । एक करोड २४ लाख व्यक्तिलाई मतदाता र नागरिक शिक्षा प्राप्ति गर्न सहयोग गरेको, नेपाल सरकारलाई दुई अर्ब ४० करोड अमेरिकी डलर मूल्य बराबरको एक हजार दुई सय मेगावाट विद्युत् उत्पादन गर्ने जलविद्युत् परियोजनालाई अन्तिम रुप दिन मद्दत गरिरहेको युएसएडले जनाएको छ । कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासका प्रवक्ता जेहरा नक्भीले द्विपक्षीय सम्बन्ध र सहयोगबारे धारणा व्यक्त गरे ।

यसैगरी युएसएड नेपालका लैङ्गिक तथा समावेशी विकास सल्लाहकार मञ्जु तुलाधर, विकास कार्यक्रम विशेषज्ञद्वय सुजन पिया र विश्वास राणा, ऊर्जा विशेषज्ञ शंकर खागी, शिक्षा विशेषज्ञ राजकुमार दुलाल, वरिष्ठ स्वास्थ्य सल्लाहकार जगनाथ शर्मा, प्राप्ति तथा सहायता विशेषज्ञद्वय चेतना घिमिरे र तेजेन्द्र पौडेल, वित्तीय विश्लेषक टेक पाण्डे, प्रमुख लेखापाल अपेक्षा श्रेष्ठलगायतले युएसएडले नेपालमा गरिरहेको सहयोग र सञ्चालित परियोजना बारे जानकारी गराए । रासस

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal