Skip to content

दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाको बिमा खर्च

nabil bank

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बिमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ ।

पालिकाभित्रका सबै नागरिककोे निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जनालाई रकम भुक्तानी गरेको हो ।

बिमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बिमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । ‘खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नं ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचारखर्च उपलब्ध गराएका हौँ’, उनले भने, ‘पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन् ।’

गत असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले  तीन हजार तीन सय २५ रुपैयाँ बिमामार्फत प्राप्त गरेकी हुन्। 

पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरिएको अध्यक्ष बन्जराले बताए । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको उनको भनाइ छ ।

अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले ५० हजार रुपैयाँ पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बीमा गरिदिएको बताए ।

कम्पनीसँगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिए । उनका अनुसार उक्त रकम पालिकाले बिमितलाई हस्तान्तरण गरेको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi