Skip to content
Prabhu

अलैंचीको मूल्य बढेपछि ताप्लेजुङका किसान उत्साहित

ताप्लेजुङ । कोलो सुनले परिचत अलैंचीको मूल्य बढेपछि यहाँका किसान उत्साही भएका छन् । गत वर्ष प्रतिमन  २६ हजारदेखि ३२ हजार रुपैयाँसम्म अलैंची बिक्री गरेका किसानले यसवर्ष प्रतिमन ८० हजार रुपैयाँसम्ममा अलैंची बिक्री गरेका छन् । एक मनमा ४० केजी अलैँची हुन्छ ।

अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले यस वर्ष अधिकांश अलैंची किसानले प्रतिमन  ७० हजारदेखि रु ८० हजार रुपैयाँसम्ममा बिक्री गरेको जानकारी दिए । ‘सुरुआतमा प्रतिमन  ६० हजार रुपैयाँदेखि अलैंची बिक्री सुरु भएको थियो । दुई साता अघि ८० हजार रुपैयाँसम्म पनि पुग्यो । अहिले प्रतिमन  ७१ हजार रुपैयाँमा अलैंची बिक्री भइरहेको छ ।’

अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैंचीको मूल्य बढेको फुङलिङ नगरपालिका–५ का अलैंची व्यवसायी दिनेश अधिकारीको भनाइ छ । ‘पछिल्लो समय भारतमा अलैंची उत्पादन कम भएको र अन्तर्राष्ट्रिय बजारमा माग बढेकाले नेपाली अलैंचीको मूल्य बढेको हो’, उनले भने । 

अधिकारीका अनुसार यहाँका ८० प्रतिशत किसानले अलैंची बिक्री गरिसकेका छन् । ‘गत वर्षको तुलनामा यसवर्ष अलैंचीको मूल्य अत्यधिक बढ्दा किसान खुसी भएका छन् । अधिकांश किसानले प्रतिमन ७८ हजारदेखि ८० हजार रुपैयाँसम्म अलैंची बिक्री गरेका छन्’, उनले भने ।

अलैंचीको मूल्य पाँच वर्षयताकै राम्रो भएको उनको भनाइ छ । प्रत्येक वर्ष भदौदेखि मङ्सिरसम्म अलैंची टिप्न सुरु हुन्छ भने त्यसपछि बिक्री सुरु हुन्छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको छ भने प्रत्येक वर्ष दुई हजार पाँच सय मेट्रिक टनसम्म अलैंची उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ । जिल्लाका ६० वडामा अलैंची खेती हुँदै आएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal