झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैंची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए ।
यो नाकाबाट सबैभन्दा धेरै अलैंची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।
आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा १ अर्ब २४ करोड आठ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।
पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ करोड चार लाख तीन हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्