Skip to content
Prabhu

दूरदराजका जनतामा पुग्ने गरी वैकल्पिक ऊर्जालाई प्रबर्द्धन गर्नुपर्छः ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दूरदराजका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रबर्द्धन गर्नुपर्ने बताएका छन् ।

वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा उनले तल्लो र दूरदराजका जनतालाई लक्षित गरी योजना बनाउनुपर्ने बताएका हुन् ।

‘म पनि दूरदराजबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुँ, हामीले पठाएको रकम दूरदराजमा बस्ने तल्लो वर्गलाई नपुगेको हुनसक्छ, हामीले पठाएको योजना पुग्यो कि पुगेन त्यसको अनुगमन भएको छ की छैन, यसमा केन्द्रले विशेष चासो दिनुपर्छ’, उनले भने ।

ऊर्जामन्त्री खड्काले विद्युत्को विकास नभएको तत्कालीन अवस्थामा वैकल्पिक ऊर्जाको ज्यादै महत्व रहेको स्मरण गर्दै अझै पनि कतिपय स्थानमा वैकल्पिक ऊर्जाको आवश्यकता रहेको उल्लेख गरे । उनले तल्लो वर्गका जनतालाई कसरी निःशुल्क ऊर्जा वितरण गर्न सकिन्छ त्यसतर्फ केन्द्रले अध्ययन गर्नुपर्ने बताए ।

मन्त्री खड्काले लक्षित वर्गका लागि खर्च गर्ने रकम कमी हुँदा समस्या भएको उल्लेख गर्नुभयो । तल्लो वर्गका मानिस आर्थिक र सामाजिक हिसाबले सबल नभएसम्म देश विकास हुन नसक्ने उनले बताए ।

मन्त्रालयका सचिव सरीता दवाडीले दिगो विकासको लक्ष्य हासिल गर्न वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले विद्युत्को पहुँचभन्दा बाहिर रहेका जनतालाई ऊर्जा प्रदान गर्नका लागि नवीकरणीय उर्जाको व्यवस्था गरिएकाले यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे ।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले केन्द्रले विभिन्न निकायको समन्वयमा दूरदराजमा रहेका जनतालाई नवीकरणीय ऊर्जा पुर्याउनका लागि काम गरिरहेको बताए ।

उनले खाना पकाउने स्वच्छ ऊर्जा कार्यक्रमअन्तर्गत स्थानीय तहसँगको लागत साझेदारीमा विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलोको प्रबर्द्धन तथा विस्तार गरिएको जानकारी दिए । केन्द्रले साना, लघु जलविद्युत्लाई मर्मत सम्भार गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल गरिरहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal