Skip to content
Prabhu

लाक्पा शेर्पाको यात्राः सगरमाथाको कीर्तिमानी आरोहणपछि अमेरिकामा क्लिनर हुँदै नेटफ्लिक्सको डकुमेन्ट्रीसम्म

बीबीसी हिन्दी । लाक्पा शेर्पा पर्वतारोहणको क्षेत्रमा मात्र नभई निजी जीवनमा पनि फाइटर हुन् । लाक्पाले एक–दुई पटक होइन पूरै १० पटकसम्म सगरमाथाको  उचाइ चुमेकी छन् । उनले आफ्नो नै कीर्तिमान पटक–पटक तोडेकी छिन्, तर निजी जीवनमा सम्बन्धको अगाडि पटक–पटक हार मान्नुपरेको छ ।
लाक्पाले धेरै चर्चा बटुलिन् । उनको अनुहारमा मुस्कान थियो, तर आँखामा भने पीडा लुकेको थियो । एउटा टुटेको विवाहसम्बन्ध र प्रेमपछिको घाउहरूको पीडा । यी पीडा कसरी लुकाउने उनैलाई थाहा थिएन ।  लाक्पा एक नेपाली शेर्पा महिला हुन् । एक अविवाहित आमाको पीडादेखि पतिका दुर्व्यवहारसम्मका पीडाले उनको निजी जीवन संघर्षले भरिएको थियो ।
उनको यही कथा नेटफ्लिक्समा एक डकुमेन्ट्रीमार्फत देखाइनेछ । महिलाहरुमा सबैभन्दा धेरै पटक एभरेस्ट विजय गर्ने शेर्पाले बीबीसीसँग कुरा गरेकी छिन् । उनले कसरी पतिले कुटपिट गर्दथ्यो र त्यो कसरी घरबाहिरसम्म आइपुगेको थियो । सन् २००४ मा एभरेस्ट समिटको दौरान सबैका अगाडि उनले निकै दुर्व्यवहार भोग्नु परेको थियो । जसका साक्षीहरु त्यहाँ रहेको मानिस थिए ।
दुनियाको सबैभन्दा अग्लो शिखरमा सबैभन्दा धेरै पटक चढ्ने महिला लाक्पा शेर्पा अहिले अमेरिकामा आफ्ना तीन बच्चाको पालनपोषण गरिरहेकी छिन् । उनीहरूलाई पालनपोषण गर्न उनले ग्रोसरी स्टोरमा क्लिनरका रुपमा काम गरिरहेकी छिन् । उनको सपना आफ्नै गाइडिङ कम्पनी सुरु गर्ने छ । उनले पर्वतारोहणमा पाएको आफ्नो अनुभव र विशेषज्ञतालाई अरूसँग साझा गर्न चाहन्छिन् ।
सामान्य तालिमले बनाएको कीर्तिमान
लाक्पा शेर्पाको जीवनमा बन्ने नेटफ्लिक्स डकुमेन्ट्रीको नाम ‘माउन्टेन क्वीनः द समिट्स अफ लाक्पा शेर्पा’ हो । जसलाई लुसी वाकरले निर्देशन गरेकी छिन् । यस फिल्ममा उनले भनेकी छन्, “म मानिसहरूलाई देखाउन चाहन्छु कि महिलाहरू पनि यो गर्न सक्छन् ।”
लाक्पाले समान्य तालिमको भरमा एभरेस्टको कीर्तिमान तोड्दै १० पटक आरोहण गरेकी थिइन् । उनी अहिले अमेरिका, कनेक्टिकटको पहाडहरूमा हिँडेर आफूलाई स्वस्थ राखेकी छिन् ।
उनको फिटनेसलाई हेरेर फिल्म निर्देशक लुसी उनको लामो कद र बलियो शरीरको प्रशंसा गर्छिन् । उनी मानिसहरूले यसलाई हलुका रूपमा लिन्छन् । तर यो एक अकल्पनीय उपलब्धि भएको बताउँछिन् ।
माता–पिताका ११ सन्तान
सन् १९७३ मा नेपालको पहाडमा याक पालकको घरमा उनको जन्म भएको थियो । उनी आफ्नो माता–पिताका ११ सन्तानमध्ये एक थिइन् । शेर्पा यस्तो ठाउँमा हुर्किइन् जहाँ केटीहरूको शिक्षालाई प्राथमिकता दिइँदैनथ्यो । पहाडहरूमा घण्टौँ हिँडेर उनी आफ्नो भाइलाई स्कूल छोड्थिन् । तर उनलाई स्कूलको भित्र जान अनुमति थिएन । यद्यपि, अहिले त्यो ठाउँमा भने धेरै कुरामा सुधार हुँदैछ । केटीहरूको शिक्षा दर १९८१ मा १० प्रतिशत थियो, जुन २०२१ मा बढेर ७० प्रतिशत पुगेको छ ।  तर शेर्पा लेखेका शब्दहरू पढ्न सक्दिनन् । शिक्षित नभएका कारण उनलाई धेरै कठिनाइहरू आउँछन्। यस्ता परिस्थितिमा उनका तीन बच्चाहरूले उनको मद्दत गर्छन् । उनका छोराको जन्म ९० को दशकमा भएको थियो । त्यस्तै छोरी सनी २२ वर्षकी र शाइनी १७ वर्षकी छन् । शेर्पा कहिल्यै स्कूल गइनन् ।
अविवाहित आमा भएपछि विदेशी व्यक्तिसँग प्रेम
जब लाक्पा शेर्पा १५ वर्षकी थिइन्, तब पर्वतारोहण अभियानोंमा कुल्लीको रूपमा काम गर्न थालिन् । आफ्नो कामका कारण उनी परम्परागत रूपमा हुने गरेको मागी विवाहका लागि नाइ भन्न समक्ष भइन् । तर जीवन कठिनाइहरूले भरिएको थियो । उनी काठमाडौँमा कसैसँग सम्बन्धमा थिइन् । उनी विवाह नहुँदै गर्भवती भइन् । यस्तो अवस्थामा अविवाहित आमाको घर जानु अत्यन्तै लाजको विषय भयो उनका लागि ।
उनले पर्वतारोहणसँग आफ्नो नाता तोडिनन् । यसै कामको दौरान उनको भेट रोमानियाई मूलका अमेरिकी पर्वतारोही जर्ज डिज्मेरेस्कुसँग भयो । जर्ज होम रिनोवेशन कन्ट्रयाक्टरको काम गर्थे । उनी तानाशाह निकोल चाउसेस्कु अधीनमा रहेको रोमानियाबाट भागेका थिए ।
सन् २००२ मा जब उनको भेट शेर्पासँग भयो, तब सम्म उनी अमेरिकामा आफ्नो नयाँ जीवन सुरु गरिसकेका थिए । जर्जसँग शेर्पालाई दुई छोरीहरू सनी र शाइनी भए ।\
सबैका अगाडि कुटपिट
जर्ज विवाहपछि हिंस्रक भइसकेका थिए । उनले शेर्पाको साथ कुटपिट गर्न थाले । सन् २००४ मा लाक्पा शेर्पा र जर्ज, न्यू इंग्ल्यान्ड क्लाइम्बिङ समूहसँग एभरेस्टमा आरोहण गरिरहेका थिए, तब सबैले जर्जको हिंस्रक व्यवहार देखे । शिखरमा पुगेपछि उनीहरूले खराब मौसमको सामना गरे । स्थानीय पत्रिकाका लागि रिपोर्टिङ गर्न आएका पत्रकार माइकल कोडासले पनि त्यो घटना सम्झन्छन् । उनी भन्छन् कि जर्जको व्यवहार अचानक परिवर्तन भयो । उनले डकुमेन्ट्रीमा भनेका छन्, “शेर्पा त्यतिबेला जर्जसँग टेन्टमा थिइन् ।”  जर्जले त्यहीँ शेर्पाको साथ कुटपिट गरे । यसको तस्बिरहरू कोडासले क्लिक गरे । जसमा शेर्पा अचेत अवस्थामा देखिइन् । जर्जले उनलाई टेन्टबाट निकाल्दै भने, “यो फोहोरलाई बाहिर फालिदेऊ ।”
कोडासले यो हिंसात्मक घटनाबारे आफ्नो सन् २००८ मा आएको किताब ‘हाई क्राइम्सः द फेट अफ एभरेस्ट इन द एज अफ ग्रिड’ मा उल्लेख गरेका छन् । सम्बन्ध बिग्रिए पनि शेर्पाले जर्जसँग नाता कायमै राखिन् । यस्तै धेरै वर्ष बिते । तर सन् २०१२ मा एक पटक फेरि जर्जले शेर्पाको साथ कुटपिट गरे । यसपटक यति धेरै कुटपिट भयो कि शेर्पा अस्पताल नै भर्ना हुनु पर्यो । एक सामाजिक कार्यकर्ताको मद्दतले उनी आफ्नी छोरीहरू लिएर महिला आश्रयस्थल गइन् । अन्ततः सन् २०१५ मा उनले डिभोर्स गरिन् ।
अदालतले सन् २०१६ मा शेर्पालाई उनका दुवै छोरीहरूको कस्टडी सुम्पियो । त्यतिबेला प्रकाशित आउटसाइड अनलाइनको एक रिपोर्टमा बताइएको थियो कि जर्जलाई छ महिना निलम्बित सजाय र एक वर्षको प्रोबेसन दिइएको थियो । उनलाई शान्ति भंग गर्ने दोषी पाइयो । तर उनलाई दोस्रो डिग्री आक्रमणको दोषी पाइएन किनभने अदालतका दस्तावेजअनुसार शेर्पाको टाउकोमा कुनै चोट देखिएको थिएन ।
विवाहको घाउले बाँच्न गाह्रो बनायो
जर्ज डिज्मेरेस्कुको सन् २०२० मा क्यान्सरका कारण मृत्यु भयो । तर उनले लाक्पा शेर्पालाई दिएको घाउ निको पार्न गाह्रो छ । शेर्पा भन्छिन् कि उनी आफ्नो जीवन गोप्य राख्न चाहन्थिन् । उनी चाहँदैनथिन् कि विश्व उनको बारेमा जानोस् । तर जब उनका छोराले लुसी वाकरको अतीतमा गरेका कामहरू हेरे, तब आफ्नी आमालाई फिल्म बनाउन सल्लाह दिए ।
त्यसैगरी शेर्पालाई फिल्मका लागि तयार गराउने क्रममा लुसीले भनिन्, “यदि तपाईं आफ्नो कथा सबैमाझ साझा गर्नुहुन्छ भने मानिसहरूले तपाईंलाई अझ बढी माया गर्नेछन्। किनकि जब तपाईं मानिसहरूलाई आफ्नो कठिन समयबारे  बताउनुहुन्छ, मानिसहरू तपाईंसँग अझ बढी सम्बन्धित महसुस गर्नेछन् ।”
बाँच्न गाह्रो भयाे
आफ्नो विवाहबारे शेर्पा यसले पाएको घाउपछि जीवन गाह्रो भइसकेको बताउँछिन् । “मैले आफ्नो जीवनमा धेरै सहनु परेको छ । कडा परिश्रम गरेकी छु । धेरै साहस गरेकी छु । धेरै पटक म भन्छु कि म किन बाँचिरहेकी छु । म लगभग स्वर्ग पुगेकी थिएँ र फेरि फर्किएँ । धेरै गाह्रो भएको थियो । घाइते महिला धेरै कठोर हुन्छिन् । छिटो हार मान्दिनन् । र, म आज पनि त्यही गरिरहेकी छु ।”
लाक्पाका लागि पर्वतारोहण गर्नु केवल उनको रहर मात्रै नभइ उपचार प्रक्रिया हो । सन् २०२२ मा उनले १०औँ पटक एभरेस्टको सफल आरोहण गरी नयाँ कीर्तिमान बनाइन् । उनको जीवनमा बनेको डकुमेन्ट्री यही जुलाई ३१ नेटफ्लिक्समा रिलिज हुँदैछ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal