Skip to content
Prabhu

ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु

दमौली । गण्डकी प्रदेशको गौरव आयोजनाको सडक कालोपत्रे सुरु भएको छ । तनहुँको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा ट्र्याक खुलेको २९ वर्षपछि कालोपत्रे सुरु भएको हो । 

मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत तनहुँ खण्डमा पहिलो चरणमा कालोपत्रे थालिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । 

अस्फाल्ट प्रविधिबाट तनहुँ खण्डमा कालोपत्र सुरु गरेको कार्यालयका प्रमुख कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार सडक स्तरोन्नतिका लागि सोमबारदेखि फागुन २२ गतेसम्म उक्त सडक बन्द गरिएको छ ।

विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र हुने भएपछि स्थानीयवासी खुसी भएका छन् । उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत् रू बाइस करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्रे सुरु गरिएको आचार्यले बताए ।  ३५ करोड १४ लाख ७४ हजार एक सय नौ रुपैयाँ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले  १२ करोड २९ लाख ३२ हजार तीन सय १६ रुपैयाँमा कालोपत्रेको ठेक्का पाएको थियो । 

सडक कालोपत्रेको सम्झौता विसं २०७६ फागुन ७ गते भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारी सुरु भएको र लकडाउनका कारण काम सुरु हुन नसकेको निर्माण कम्पनीले जनाएको छ । 

तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेढगाउँको सिमानासम्मको एघार किलोमिटर खण्डमा सडक कालोपत्र हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ ।  उक्त सडकको चौडाइ सात मिटर रहनेछ । सडकमा पाँच मिटरको कालोपत्र हुनेछ भने एक मिटरको नाला निर्माण हुनेछ । 

कालोपत्रे सम्पन्न भएपछि यस क्षेत्रकै समृद्धिको ढोका खुल्ने घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले बताए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal