Skip to content
Prabhu

भारतमा ५१ प्रतिशत विद्युतीय कारधनी असन्तुष्ट

एजेन्सी । भारतमा गरिएको एक सर्वेक्षणमा अधिकांश विद्युतीय सवारीधनीहरुले आफू अब विद्युतीय सवारी नकिन्ने पक्षमा रहेको पाइएको छ । पार्क प्लसद्वारा गरिएको एक सर्वेक्षणमा पाँच सय विद्युतीय कार (ईभी) धनी सहभागी भएकोमा  ५१ प्रतिशतले अब विद्युतीय सवारी नकिन्ने बताएका थिए ।
उनीहरुले डिजल तथा पेट्रोल कारमै फर्कने बताएका थिए । पार्क प्लस कार धनीहरुले दैनिक सामना गर्ने चुनौतीको समाधानका लागि सेवा प्रदान गर्ने एक एपमा आधारित प्लेटफर्र्म हो । यस प्लेटफर्ममा २५ हजारभन्दा बढी विद्युतीय सवारीधनीहरु सहभागी छन् ।
उक्त सर्वेक्षण दिल्ली एनसीआर, मुम्बई र बैंगलोर शहरहरूमा केन्द्रित थियो । “भारतमा ईभी कार मालिकहरूको मनोवृत्ति बुझ्नको यो सर्वेक्षण गरिएको थियो, यसले अधिकांश विद्युतीय सवारीमा फेरि जान अनिच्छुक देखिएको देखाएको छ”, पार्कप्लसका संस्थापक तथा सीईओ अमित लाखोटियाले भने ।
सर्वेक्षण प्रतिवेदनमा ८८ प्रतिशत उत्तरदाताले चार्जिङको चिन्ता व्यक्त गरेका छन् । र, यो गाडीले दिने रेञ्जभन्दा पनि बढी चिन्ताजनक रहेको छ । साथै अधिकांश चालकहरु ५० किलोमिटरको रेडियसभित्रको छोटो अन्तरसहरमा मात्रै यात्रा गर्न रुचाउँछन् ।
सर्वेक्षणमा विद्युतीय सवारीधनीहरु चार्जिङ स्टेशनहरूको कमी महसुस गरेका थिए । भारतमा २० हजारभन्दा बढी ईभी चार्जिङ स्टेशन छन् । तर सुरक्षित चार्जिङ स्टेशनमा पहुँच अधिकांश ईभी कार मालिकहरूको लागि सबैभन्दा ठूलो चिन्ताको कारण बनेको छ । उच्च  मर्मत खर्च र रिसेल पनि कम भएकाले यसमा रुचि कम रहेको देखिएको छ ।
“विद्युतीय सवारी धनीका लागि उच्च मर्मत खर्च अर्को प्रमुख चिन्ताको कारण हो”, पार्कप्लसको सर्वेक्षणले भन्छ, “७३ प्रतिशत उत्तरदाताहरूले आफूहरुले ईभी कारलाई बुझ्नै नसकेको बताए ।”
ईभीमा मेकानिकल पार्ट्स र इलेक्ट्रिकल कम्पोनेन्टहरूको जटिलताले मर्मत कार्यलाई कठिन बनाएको उनीहरुको बुझाइ थियो । उनीहरुका अनुसार इभीमा देखिएको समस्या समाधानका  लागि अधिकांश स्थानीय मिस्त्रीहरुले असमर्थता देखाएका थिए ।
सर्वेक्षणमा  ३३ प्रतिशतले रिसेलको मूल्य र मर्मत खर्चलाई प्रमुख चिन्तामध्येको एक मानेका छन् । ईभीको ब्याट्री कारको कुल मूल्यको ३० प्रतिशत हुन आउँछ । र, यो समयसँगै बिग्रिन्छ । जसले गर्दा निकट समयमै यसको खर्च ठूलो हुन्छ । सर्वेक्षणले औसतभन्दा बढी ईभी मालिकहरु इन्धन प्रयोग हुने कार मालिकको तुलनामा असन्तुष्ट छन् । भारतमा अहिलो पनि चार्जिङ  स्टेसनको चुनौती प्रमुख समस्याका रुपमा देखिएको प्रतिवेदनमा उल्लेख छ ।
Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal