Skip to content
Prabhu

विदेश जाने अधिकांश वैदेशिक रोजगार बचतपत्रबारे बेखबर, ४.९ प्रतिशत मात्रै बिक्री

काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्तिहरु वैदेशिक रोजगार बचतपत्रबार बेखर रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार वैदेशिक रोजगारीमा जाने ८ प्रतिशतमा मात्रै वैदेशिक रोजगार बचतपत्रका बारेमा जानकारी भएको पाइएको हो ।

नेपाली नागरिकको वैदेशिक रोजगारीमा आकर्षण बढिरहेको सन्दर्भमा एकातर्फ रेमिट्यान्स आय बैंकिङ्ग प्रणालीबाट भित्र्याउन प्रोत्साहित गर्ने र अर्कोतर्फ सरकारको आन्तरिक ऋण परिचालनमा समेत योगदान पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि वैदेशिक रोजगार बचतपत्रको शुरुवात गरिएको थियो । तर, विदेश जाने ८ जना मध्ये एक जनालाई मात्रै यस विषयमा जानकारी भएको देखिएको हो ।

वैदेशिक रोजगार बचतपत्र आकर्षक बनाउन यसको ब्याजदर तुलनात्मक रुपमा उच्च हुने गरेको छ । यस्तो बचतपत्र आवश्यकताअनुसार तत्काल बिक्री गर्न वा बैंक तथा वित्तीय संस्थाहरुमा धितो राखी कर्जा लिन सकिने व्यवस्थासमेत रहेको छ । आर्थिक वर्ष २०६६/६७ देखि २०७९/८० सम्म २५ पटक गरी जम्मा १५ अर्ब ५६ करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा जम्मा ७६ करोड २३ लाख मात्र बिक्री भएको छ ।

जुन ४.९ प्रतिशत मात्रै हो । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसतमा जम्मा ०.०६ प्रतिशतमात्र रहेको देखिन्छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क, म्यानपावर कम्पनी र श्रम विभागमा तथा काठमाडौं बाहिरका झापा–काँकडभिट्टा, वीरगञ्ज–रक्सौल, भैरहवा–सुनौली र धनगढी–गौरीफन्टाका नाकाहरुमा वैदेशिक रोजगारीमा जान लागेका र फर्किएका ३८५ नेपाली नागरिकसँग सम्पन्न स्थलगत सर्वेक्षणमा करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका भेटिए । ३८५ मध्ये १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइयो तर जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद नगरेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेण्टहरुसँग इमेल सर्वेक्षण गरेको हो ।

वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेका छन् ।

यसैगरी वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेण्टका १६ प्रतिनिधिहरुसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा सोधनी गरेको तर खरिदमा तत्परता नदेखाउने गरेको उल्लेख गरेका छन् । त्यसैगरी, काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षण अनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका छन् ।

राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र अपेक्षित रुपमा परिचालन हुन नसकेको सन्दर्भमा प्रबर्द्धनका उपायहरु सुझाउन अध्ययन गरेको हो । अध्ययनमा वैदेशिक रोजगार बचतपत्र परिचालन स्थिति तथा योगदानको समग्र विश्लेषण गर्दै बचतपत्रबारे जानकारी, खरिद गर्ने तत्परता, खरिद गर्न चाहने/नचाहने कारण र प्रबर्द्धनका उपायहरुको विश्लेषणको लागि तीन प्रकारका सर्वेक्षण सम्पन्न गरिएको हो । अध्ययनले वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनको लागि बमोजिमका नीतिगत तथा प्रक्रियागत सुधार र प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औंल्याएको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal