Skip to content
Prabhu

साढे ६ करोडको आयोजना अलपत्र, १ हजार २ सय घरधुरी खानेपानीबाट वञ्चित

nabil

सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ ।

पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो । पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले ६ करोड ५० लाख रुपैयाँ मा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म २ करोड रुपैयाँमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ ।

समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने पनि नभएको स्थानीयको गुनासो छ । “डिभिजन कार्यालयमा धाउँदा धाउँदा र हाकिमलाई भन्दाभन्दा थाकिसकेँ’, उपभोक्ता समितिका अध्यक्ष ठाकुरले भने ।

साबिकको लहान खानेपानी तथा सरसफाइ डिभिजन पछिल्लो समय समायोजना भएर सप्तरीको राजविराज डिभिजन कार्यालयअन्तर्गत समावेश भइसकेको छ । आर्थिक वर्ष २०७९÷८० असार मसान्तमा डिभिजन कार्यालय राजविराजले १९ लाख रुपैयाँको बोर्डिङको पाइप किनेर कार्यालय अगाडि थुपारेर छाडेको छ । त्यो पाइप जडान गर्न त्यसपछि कहिल्यै डिभिजन कार्यालयका कर्मचारी नै पुगेनन् । आर्थिक वर्ष २०८०÷८१ म छुट्याएको १७ लाख रुपैयाँ डिभिजनले कामै नगरी ‘फ्रिज’ भएर गएको बताइएको छ ।

कल्याणपुर–१२ का वडाध्यक्ष दिलीपकुमार यादवले भने वडावासीलाई स्वच्छ खानेपानी खुवाउन निरन्तर योजनाबारे सोधीखोजी गरिरहेको बताए । ‘डिभिजन कार्यालय छुट्याएको खुद्रे बजेटले पनि लापरबाही काम गर्छ’, अध्यक्ष ठाकुरले भने, ‘यसरी यो आयोजनाले कहिले पूर्णता पाउँदैन ।’

सरकार र स्थानीय जनप्रतिनिधिको बेवास्ताले खानेपानी आयोजना अलपत्र परेको स्थानीय बताउँछन्। सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको आयोजना भएकाले उचित बजेट नदिँदा पूर्णता पाउन नसकेको खानेपानी तथा सरफाइ डिभिजन कार्यालय राजविराजका प्रमुख विश्वनाथ यादवले बताए।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal