Skip to content
Prabhu

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व संकलन

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्य भन्दा २६ प्रतिशत कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलाई विभागले २७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ लक्ष्य तोकेकामा २६ प्रतिशत कम अर्थात २० अर्ब ५६ करोड ७२ लाख २२ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन भएको हो ।

कार्यालय प्रमुख निरन भट्टराईका अनुसार विगतका वर्षमा सोही अनुपातमा राजस्व सङ्कलन हुने गरेको थियो । विभागले लक्ष्य बढाउने तर राजस्व सङ्कलनको दर उही रहँदा लक्ष्यभन्दा कम राजस्व सङ्कलन भएको उनले बताए । उनका अनुसार गत आवमा आयकरतर्फ लक्ष्यको ८८ प्रतिशत मात्र राजस्व सङ्कलन भएको छ ।

आयकरका लागि विभागले २ अर्ब ९६ करोड ३८ लाख रुपैयाँ लक्ष्य तोकेको थियो । कार्यालयले २ अर्ब ६३ करोड १६ लाख राजस्व सङ्कलन गरेको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यको ८४ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले २ अर्ब ३३ करोड ७२ लाख लक्ष्य तोकेकामा एक अर्ब ९५ करोड २२ लाख रुपैयाँ सङ्कलन भएको प्रमुख भट्टराईले जानकारी दिए।

कार्यालयका अनुसार अन्तःशुल्कमा लक्ष्यको ६९ प्रतिशत राजस्व सङ्कलन भएको छ । विभागले २२ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ लक्ष्य तोकेकामा कार्यालयले १५ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ सङ्कलन गरेको हो । बहाल करतर्फ ६६ प्रतिशत प्रगति भएको छ । ६० करोड पाँच लाख रुपैयाँ लक्ष्य दिइएकोमा ४० करोड ३४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको भट्टराईले बताए।

प्रमुख भट्टराईका अनुसार आर्थिक मन्दिका कारण अन्तःशुल्कमा वृद्धि हुन नसक्दा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो । उनले भने, ‘लक्ष्य तोकिए पनि विगत तीन वर्षदेखि सङ्कलनको दर उस्तै हुँदा लक्ष्य प्राप्तिमा कठिनाइ भएको हो ।’

बजारमा पैसा नआउनु र जनताको क्रय शक्तिसमेत कम हुनुले राजस्व वृद्धि नभएको उनको भनाइ छ । देशमा रोजगारीका अवसर सिर्जना हुन नसक्नु र युवाशक्ति विदेश पलायन हुनु राजस्व वृद्धि हुन नसक्नुको कारण हुनसक्ने उनको अनुमान छ ।

उनले भने, ‘घर जग्गा कारोबार कम हुँदा पनि राजस्व सङ्कलनमा कमी आएको हो ।’ कार्यालयमा गत आगमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक लाख ४६ हजार र व्यावसायिक लेखा नम्बर लिने ५७ हजार नौ सय १९ जना रहेका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal