Skip to content
Prabhu

अर्थमन्त्रीमा विष्णु पौडेल आएपछि ५१५ अंकले बढ्यो नेप्से, कारोबार रकममा १२ अर्ब बढीको वृद्धि

nabil

काठमाडौं । विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त भए पछिको १३ कारोबार दिनमा सेयर बजार परिसूचक ५१५ अंकले बढेको छ । विष्णु पौडेलले असार ३१ गते अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गरेदेखि बिहीबारसम्म सेयर बजार ५१५ दशमलव २१ अंकले बढोत्तरी भएको हो ।

उनी अर्थमन्त्री नियुक्त भएको १९ दिन पूरा भएको छ । पौडेल अर्थमन्त्री नियुक्त हुनेभन्दा अघिल्लो दिनको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक २२४० दशमलव ४१ विन्दुमा रहेको थियो । उनी अर्थमन्त्री नियुक्त भए पछिको १३ औँ कारोबार दिन आज सेयर बजार परिसूचक ५१५ दशमलव २१ अंकले बढेर २७५५ दशमलव ६२ विन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५ दशमलव २९ अंकले कम हो ।

नयाँ सरकार निर्माण हुने भएपछि अर्थमन्त्री एमालेको भागमा परेको थियो । त्यसपछि अर्थमन्त्रीमा पौडेल नै आउने चर्चा सुरु भएको थियो र सोहि अवधिदेखि सेयर बजार बढ्न थालेको थियो । पोडेललाई सेयर बजारका लगानीकर्ताहरुले सुरु देखिनै पत्याएका छन् । जसले गर्दा उनी अर्थमन्त्री भएको समयमा सेयर बजार बढ्ने गरेको छ ।

पौडेल अर्थमन्त्री नियुक्त भएपछि सेयर बजारमा कारोबार रकम पनि उच्च अंकले बढेको छ । असार ३१ गतेको कारोबार दिन ८ अर्ब ७३ करोड १४ लाख बढीको कारोबार भएको सेयर बजारमा बुधबार २१ अर्ब ९१ करोड १५ लाख बढीको कारोबार भएको छ । जुन पछिल्लो १३ कारोबार दिनमा १२ अर्ब ९८ करोड २० लाखभन्दा बढीले बढेको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकले लिएको मौद्रिक नीतिका कारण पनि सेयर बजारमा वृद्धि भइरहेको लगानीकर्ताहरुको भनाइ छ । मौद्रिक नीतिले सेयर बजारमा संस्थागत लगानीकर्ताका लागि लगाएको २० करोडको क्यापको सीमा खारेज लगायता व्यवस्थामा गरेको परिवर्तनले सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि बढिरहेको छ ।

अहिले मात्र होइन विष्णु पौडेल २०७२ सालमा अर्थमन्त्री हुँदा पनि सेयर बजारले उनलाई स्वागत गरेको थियो । २०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पौडेल पहिलो पटक अर्थमन्त्री थिएका थिए । उनकै कार्यकालमा २०७३ साउन १२ मा नेप्सेले १८८१ अंकमा पुगेर रेकर्ड कायम गरेको थियो ।

फागुन २०७४ मा ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा सुरुमा अर्थको जिम्मेवारी डा.युवराज खतिवडाले सम्हाले । उनको कार्यकालमा सेयर बजार सकारात्मक देखिएन । खतिवडाको बहिर्गमनपछि २०७७ असोजमा पौडेल पुनः दोस्रोपटक अर्थमन्त्री बने । उनले त्यो समयमा २०७८ असारसम्म अर्थमन्त्रालयको जिम्मेवारी सम्हाले । उनकै पालामा नेपालको सेयर बजारले ‘बुलिस ट्रेन्ड’ समातेको थियो ।

२०७८ भदौ २ गते नेप्से हालसम्मकै उच्च विन्दु ३१९८ मा पुगेको थियो । त्यो समयमा अर्थमन्त्री जनार्दन शर्मा थिए । शर्मा अर्थमन्त्री बनेपछि सेयर बजार ओरोलो यात्रामा लागेपछि ‘बुल’ यात्राको जस पनि पौडेलले नै पाए । २०७८ भदौ २ पछि घट्न थालेको सेयर बजार २०७९ पुस ७ गते १८६५ अंकमा झरेको थियो ।

संसदीय चुनावको नतिजा आएसँगै २०७९ पुस ११ गते पुष्पकमल दाहाल नेतृत्वमा एमाले–माओवादी गठबन्धनको सरकार बन्यो र त्यो समयमा विष्णु पौडेलनै अर्थमन्त्रालको जिम्मेवारीमा पुगे । त्यो उनको अर्थमा तेस्रो कार्यकाल थियो । उनी त्यो समय जम्मा ६४ दिन मात्रै अर्थमन्त्रीका रुपमा मन्त्रालयको जिम्मेवारीमा बस्न पाए । उनको त्यो छोटो कार्यकालमा पनि सेयर बजार उकालो लाग्दै नेप्से २२०० अंक माथि पुग्यो ।

त्यसपछि उनी अर्थमन्त्रीबाट बाहिरिए पछि सेयर बजार फेरि घट्न थाल्यो । सेयर बजार गत जेठ १ गते १८१८ अंकमा झरेको थियो । त्यसयता सेयर बजार १९०० देखि २००० को विन्दुमा चलिरहेको थियो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal