Skip to content
Prabhu

दूध बेचेर मासिक १ लाख आम्दानी गर्दै दाङका रवि घर्ती

घोराही । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिक रुपमा लागृका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।

मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहनुभएका घर्तीले भने, ‘भैँसी र बङ्गुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ ।’ घोराही उपमहानगरपालिका–७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिक रुपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक रु एक लाखभन्दा बढी आम्दानी भइरहेको बताए । उनको फार्ममा १८ भैँसी र २५ बङ्गुर छन् ।

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए । ‘दूध बिक्री गर्न समस्या छैन । फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ’, उनले भने । दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए । फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ ।

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताए। दूध प्रतिलिटर ७० रुपैयाँमा बिक्री हुने गर्दछ ।

भैँसीपालनसँगै मासुका लागि बाख्रा, बङ्गुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताए । त्यसका लागि उनी थप संरचना निर्माण गर्ने तयारीमा छन् ।

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब १ करोड ५० लाखसम्म लगानी भइसकेको चौधरीले बताए । फार्ममा तीन जनाले रोजगारी पाएका छन् । पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal