Skip to content

अरनिको राजमार्ग विस्तारः बनेपामा विद्युत् व्यवस्थापनमा कठिनाइ

nabil bank
सडकको संरचना निर्माण गरिँदै काभ्रेपलाञ्चोक, २० साउनः अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको बिस्तार योजनाअन्तर्गत साँगा–धुलिखेलको सडकखण्डमा पर्ने काभ्रेपलाञ्चोकको बनेपा नगपालिका–८ स्थित बजार क्षेत्रमा सडक संरचनाका लागि वाल निर्माण गर्दै मजदुर । भक्तपुरको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड बिस्तार गर्न विसं २०७९ फागुनमा तीन वर्षमा सक्ने गरी निर्माण सम्झौता भई सुरु गरिएको थियो । तस्बिर ः राजकुमार पराजुली÷रासस

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गतको काभ्रेपलाञ्चोकको सीमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार कार्यले तीव्रता पाएको छ । यससँगै सडक किनारामा खम्बा गाड्दा विद्युत् लाइन घरनजिक हुने भएकाले विद्युत् व्यवस्थापनका लागि कठिनाइ भएको जनाइएको छ ।

हाल सडक विस्तार कार्य भइरहँदा धुलिखेलतर्फबाट विद्युत्का खम्बा धमाधम गाड्न सुरु गरि गाडिएका विद्युत्का खम्बामा ‘एङ्गल’ राख्ने काम सुरु गरिएको छ । यसपछि तार टाँगिनेछ । धुलिखेलतर्फबाट बुडोलसम्म खम्बा गाडीसकेपछि मुख्य बजार बनेपामा भने विद्युत् व्यवस्थापनमा समस्या देखिएको हो । सडक दायाँबायाँका घरका झ्यालमा विद्युत्का तार पुग्ने भएकाले व्यवस्थापनमा कठिनाइ देखिएको हो ।

जोखिम धेरै हुने भएकाले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले बजार क्षेत्रभित्र खम्बा राख्ने स्थानको खोजी गरिरहेको जनाएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले बनेपा बजार क्षेत्रमा विद्युत्बाट कुनै पनि समस्या ननिम्त्याउन दीर्घकालीन समाधान खोजिरहेको बताए । ‘बजार क्षेत्रका बासिन्दा निकै आतङ्कित देखियो, हामी समाधान खोजिरहेका छौँ’, उनले भने । उनका अनुसार त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । सूर्यविनायक–धुलिखेल सडकखण्ड निर्माणमा २७ प्रतिशत प्रगति भएको हो । सूर्यविनायक–साँगा खण्डमा २५ र साँगा–धुलिखेल खण्डमा ३० प्रतिशत निर्माण कार्य सकिएको छ । साइड पर्खाल, कल्र्भटलगायतका महत्वपूर्ण निर्माणका कार्य ८८ प्रतिशत सकिएको छ ।

तीन वर्षमा सक्नेगरी विस्तार कार्य थालिएको सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएअनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको थियो ।

सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका अनुसार उक्त राजमार्गमा प्रारम्भिक चरणमा सूर्यविनायकदेखि धुलिखेलसम्म नै सडक छेउमा पर्खाल निर्माणको काम भइरहेको छ । विस्तारअन्तर्गत बनेपा बजार क्षेत्रमा सडक चौडा बनाउन काम सुरु गरिएको छ भने धुलिखेलदेखि बनेपा तथा साँगादेखि बनेपासम्म सडक चौडा बनाउन विस्तार क्षेत्र खालीगरी आवश्यक स्थानमा पर्खाल तथा कल्भर्ट निर्माण भइरहेका छन् ।

दासका अनुसार यसअघि सडक मापदण्डमा परेका खानेपानी आयोजनाका पाइप तथा घर स्थानान्तरण र भत्काउन सरोकारवालासँग विभिन्न चरणमा छलफल भई सहमतिअनुसारको काम भइरहेको छ । यस्तै जिल्लाको मुख्य सहर बनेपा क्षेत्रस्थित एक किमी सडक विस्तारका लागि संरचना निर्माण गर्न सुरु गरिएको छ ।

सडक विभागका अनुसार कूल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँका ठेक्का लगाइएको थियो भने दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने सात दशमलव पाँच किमी रहेको छ ।

उक्त खण्डको ठेक्का रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । सूर्यविनायकदेखि धुलिखेलसम्म विभिन्न स्थानमा निर्माण गर्नुपर्ने पुलका लागि भने छुट्टै ठेक्का आह्वान गरिने आयोजनाले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime