Skip to content

तेह्रथुमबाट १ वर्षमा ५३ करोडको गोलिया काठ बिक्री

nabil bank

तेह्रथुम । यहाँबाट आर्थिक वर्ष २०८०/८१ मा रु. ५३ करोड मूल्य बराबरको गोलिया काठ निर्यात भएको छ । गोलिया काठ निर्यातबापत सङ्घीय सरकारलाई रु. सात करोड ३१ लाख ६९ हजार मूल्य अभिवृद्धि कर सङ्कलन भएको छभने रु ७८ लाख ८५ हजार तीन सय प्रदेश सेवा शुल्कबापत राजस्व सङ्कलन भएको छ ।

गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार एक सय ८६ क्युफिट गोलिया काठ जिल्लाबाहिर निर्यात भएको डिभिजन वन कार्यालयका निमित्त डिभिजनल प्रमुख उधिमप्रसाद राईले बताए। उनका अनुसार निर्यात भएका सबै गोलियालाई सरकारी दरमा हिसाब गर्दा त्यति मूल्यको पर्ने देखिन्छ ।
‘बाहिर बजारमा सरकारी दरभन्दा बढीमा पनि कारोबार हुने भएकाले हामीले हिसाब गरेकोभन्दा अझै बढी मूल्यको गोलिया हुन जान्छ ।’

निर्यात हुने गोलियामा ९० प्रतिशत ‘बी’ ग्रेडका उतिसका रूख हुने गर्छन् । गोलियाको गुणस्तर अनुसार ‘ए’ ग्रेड र ‘बी’ ग्रेडमा छुट्याइएको छ । त्यसमा काठ व्यवसायीले ‘ए’ ग्रेडको उतिसको ४५ रुपैयाँ ५० पैसा प्रति क्युफिट मूल्य अभिवृद्धि कर तिरेका छन्भने ‘बी’ ग्रेडको ३२ रुपैयाँ ५० पैसा तिरेका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारी तथा अन्य कारणले तेह्रथुमका गाउँगाउँका जनसङ्ख्या घट्दो छ । बाँझिएका खेतबारीमा आफैँ उम्रिने रूखहरु आठ–दश वर्षमा गोलिया बेच्न लायक हुने गरेको वन पैदावार व्यवसायी सङ्घका अध्यक्ष उत्तम लिम्बूले बताए । उनले सो व्यवसाय गरेर स्थानीय १२ जनालाई रोजगारी दिएको बताए । यहाँबाट निर्यात हुने गोलिया काठमा सबैभन्दा बढी उतिस रहेको भने केही मात्रामा चिलाउने, मलातो, पात्ले रहेको छ ।

त्यसैगरी, राष्ट्रिय वनको गैरकाष्ठ वन पैदावार जडीबुटी गत आर्थिक वर्षमा २४ हजार छ सय किलो यहाँबाट निर्यात भएको छ । त्यसबाट मूल्य अभिवृद्धि करबापत रु ३३ हजार सात सय सङ्कलन भएको छ । तेह्रथुमबाट निर्यात हुने जडीबुटीहरुमा मजिटो, चिराइतो, लोक्तालगायत रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi