Skip to content
Prabhu

साताको सुन : रेकर्ड कायम गरेर १६ सय रुपैयाँले घट्यो मूल्य

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्‍यो । लगातारजसो बढीरहेको सुनको मूल्य यो साताको सोमबार ऐतिहासिक विन्दु १ लाख ५० हजार पुगेको हो । जुन नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हो ।

यो सातामा ऐतिहासिक रेकर्ड कायम गरेको सुन समग्रमा साताभरमा १ हजार ६०० रुपैयाँले घटेको छ । यो साताको पहिलो दिन आइतबार सुन तोलामा १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य घटेर १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । ६ दिनको कारोबर अवधिमा सुनको मूल्यमा १ हजार ६०० रुपैयाँले गिरावट आएको छ ।

तर यो हप्ताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । त्यो दिन नेपाली बजारमा सुनको मूल्य १ लाख ५० हजार रुपैयाँ पुगेको थियो । ऐतिहासिक रेकर्ड बनाए पछिका दिनमा भने सुनको मूल्य घटेको छ । रेकर्ड बनाए पछि लगातार रुपमा तीन दिन सुनको मूल्य घट्यो । नेपाली बजारमा सुन मंगलबार प्रतितोला १ लाख ४७ हजार ७०० रूपैयाँमा झरेको थियो । यसैगरी बुधबार पनि सुनको मूल्यमा गिरावट आएर प्रतितोला १ लाख ४६ हजार ३०० रूपैयाँमा र बिहीबार तोलाको १ लाख ४६ हजार ६०० रूपैयाँमा खरिदबिक्री भएको थियो ।

तर साताको कारोबार हुने अन्तिम दिन फेरि सुनको मूल्य बढेको थियो । कारोबार हुने अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेर प्रतितोला १ लाख ४८ हजार १०० रुपैयाँ कायम भयो ।

यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ । साताको पहिलो दिनको तुलनामा अन्तिम दिन चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले सस्तो भएको हो । आइतबार चाँदी प्रतितोला १ हजार ७८५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ७३० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य सोमबार स्थिर रहेको थियो भने मंगलबार चाँदी तोलाको १ हजार ७२५ रूपैयाँमा झरेको थियो । यसैगरी, चाँदीको मूल्य लगातार २ दिन घटेर बिहिबारसम्म १ हजार ६९० रूपैयाँमा कारोबार भएको थियो । साताको अन्तिम कारोबार भएको दिन, शुक्रबार भने चाँदी प्रतितोला १ हजार ७३० पुग्यो ।

विश्व बजारमा पनि यो साता सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । जसकारण नेपाली बजारमा पनि सुनको मूल्य पनि ऐतिहासिक उचाइमा पुगेको हो । विश्व बजारमा मध्यपूर्वमा बढ्दो तनावका बीच साताको शुरुका दिनमा बढेको मूल्य साताको बीचका केही दिन घटेर पछिल्ला दिनमा फेरि बढ्यो । अमेरिकी श्रम बजारमा देखिएको सुधार, अमेरिकी डलरको मजवुती जस्ता कारणले सुनको मूल्य घट्न सहयोग पुगेको बिश्लेषकहरुले बताएका छन् ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal