Skip to content
Prabhu

बजेट अभावमा चार सिँचाइ योजना अलपत्र

तनहुँ । बजेट विनियोजन कार्यले निरन्तरता नपाउँदा जिल्लाका चार सिँचाइ योजना अलपत्र बनेका छन् । योजना निर्माणका लागि ठेक्का लागे पनि बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ । 

व्यास नगरपालिका–५ को साँघे पतेनी सिँचाइ योजना, बन्दीपुर गाउँपालिका–३ कोलपाटा लिफ्ट सिँचाइ योजना, ऋषिङ गाउँपालिका–५ को अठारबिसे र व्यास–५ को याम्दी खोला चापटार लिफ्ट योजना रहेका छन् । गत वर्ष बजेट विनियोजन भए पनि यस वर्ष बजेट विनियोजन नहुँदा निर्माण कार्य प्रभावित भएको सिँचाइ विकास डिभिजन कार्यालयका इञ्जिनियर एवं सूचना अधिकारी जगन्नाथ चापागाईंले जानकारी दिए ।

५८ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी रहेको उनले बताए । बजेटका कारण निर्माणधीन योजनाको कार्य अघि बढाउन नसक्दा सिँचाइ कार्य प्रभावित बनेको छ । ‘भौगोलिक विकटताका कारण अधिकांश स्थानमा पानीको स्रोत नहुँदा सिँचाइ योजना महँगो हुने गरेको छ’, उनले भने, ‘अधिकांश पाखोबारी बाँझो रहेकाले सिँचाइको पहुँच पुर्याइ स्थानीयको जीवनस्तरमाथि उकास्ने लक्ष्य रहेको छ ।’ 

विशेषगरी मुख्य योजनाका रुपमा दुई योजना छन् । व्यास–१० को नारेश्वर ताल जलाशय योजनाका लागि एक करोड ९४ लाख रुपैयाँमा ठेक्का लागेको छ । त्यसैगरी शुक्लागण्डकी नगरपालिका–९ मा बस्ती संरक्षणका लागि एक करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ योजनामध्ये ८६ योजना निर्माण सम्पन्न भएका छन् । स्रोत सुनिश्चितता भई ठेक्का प्रक्रियाबाट काम भइरहेका योजनाका लागि कम बजेट विनियोजन हुँदा निर्माण कार्य प्रभावित हुने गरेको सूचना अधिकारी चापागाईंले जानकारी दिए । 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal