Skip to content
Prabhu

ट्राफिक प्रहरीद्वारा ६ महिनामा १ करोड राजस्व संकलन

 

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा  एक करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस मसान्तमा एक करोड दुई लाख ५१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

सो अवधिमा विभिन्न किसिमका १० हजार आठ सय २० सवारीमाथि कारबाही गरी सो राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भाष्कर खतिवडाले जानकारी दिए । 

यस्तै सो अवधिमा पर्सा जिल्लामा भएको तीन सय २६ सवारी दुर्घटनमा २७ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार यस अवधिमा भएका सवारी दुर्घटनामा परी ७५ जना गम्भीर घाइते भएका छन् । गत आव २०७९÷८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक नियम उल्लंघन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी तीन करोड ४२ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । 

यो अघिल्लो आव २०७८÷०७९ को तुलनामा २१ प्रतिशतले बढी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ । अघिल्लो आव २०७८÷७९ मा सो कार्यालयले दुई करोड ८५ लाख २१ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको थियो । ट्राफिक चेकजाँचमा गरिएको कडाइका कारण राजस्व संकलनमा वृद्धि भएको प्रहरी निरीक्षक खतिवडाको भनाइ छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । 

–––

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal