Skip to content
Prabhu

सोलुखुम्बुको नाम्चे र थामेका ९६० घरपरिवार अन्धकारमा

सोलुखुम्बु । थामेखोलामा आएको बाढीले कारण थामेखोला साना जलविद्युत् परियोजनाको बाँधमा क्षति पुर्‍याउँदा झण्डै १ हजार घरपरिवार प्रभावित भएका छन् । गत शुक्रबार खुम्बु पासाङल्हामू गाउँपालिका–५ थामेमा आएको बाढीले गाउँसहित ९३० किलोवाट क्षमताको उक्त परियोजनाको बाँधमा क्षति पुर्‍याएको थियो । जसका कारण वडा नं ४ खुम्जुङ, खुन्दे तथा वडा नं ५ नाम्चे र थामेका गरी ९६० घरभन्दा बढी घरपरिवार प्रभावित भएको खुम्बु विजुली कम्पनीका प्रबन्धक सोनाम दोर्जी शेर्पाले जानकारी दिए ।

गाउँपालिका वडा नं ५ का अध्यक्ष पासाङ ग्याल्जेन शेर्पाले बाढीका कारण जलविद्युत् परियोजनामा क्षति पुगेको उल्लेख गर्दै सञ्चालनमा ल्याउनका लागि महिना दिनभन्दा बढी समय लाग्न सक्ने बताए । ‘बाढीका कारण परियोजनाको बाँधमा ठूलो क्षति पुगेको छ, मर्मतका लागि एक महिनाभन्दा बढी समय लाग्ने जानकारी दिइएको छ’, उनले भने ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले विजुली नहुँदा सञ्चारलगायतका सेवा अवरुद्ध भएको बताए । ‘बाढीले विद्युत् आयोजनामा क्षति पुर्‍याएपछि समस्या भएको छ, बत्ती नुहँदा मोबाइल नेटवर्कसमेत प्रभावित हुँदा सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । बाढीका कारण खुम्बुमा ठूलो क्षति पुगेको छ’, उनले भने । विद्युत् परियोजना मर्मतका लागि आइतबारदेखि नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली खटिसकेको इलाका प्रहरी कार्यालय लुक्लाका इञ्चार्ज प्रहरी नायब निरीक्षक हेमबहादुर कट्वालले जानकारी दिए ।

‘नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली मर्मतमा खटिएका छन् । क्षति ठूलो भएकाले तत्काल आयोजना सञ्चालन हुने सम्भावना न्यून भएको जानकारी प्राप्त भएको छ,’ उलने भने । विद्युतगृहमा क्षति नभए पनि बाँध पूर्ण रुपमा क्षतिग्रस्त भएको नाम्चेका स्थानीय समेत रहनुभएका राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले बताए ।

बाढी र पहिरोमा बगेर आएर ठूला ढुङ्गा बाँधमा थुप्रिएका छन् । उक्त ढुङ्गा हटाउनका लागि स्काभेटर मेसिन आवश्यक पर्ने उल्लेख गर्दै खुम्बुु विजुली कम्पनीले आयोजना पुनः सञ्चालनका लागि केही समय लाग्न सक्ने जनाएको छ । हाल लुक्लाभन्दा तलको गाउँ थामडाँडासम्म मात्रै सडकको पहुँच रहेकाले सो स्थानसम्म स्काभेटर लैजान सहज नभएको कम्पनीको भनाइ छ । ‘बत्ती नहुँदा खुम्बु क्षेत्र अन्धकारमा छ, बाढीले क्षतिग्रस्त विद्युत् आयोजना कसरी सञ्चालन गराउने भन्नेबारेमा छलफलमा छौँ’, राष्ट्रियसभा सदस्य शेर्पाले भने । उनले आफूहरुले यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकर्षण गराइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले पनि समस्या समाधानका लागि चासो देखाएको बताए ।
उनले उक्त स्थानमा स्काभेटर मेसिन कसरी लैजाने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘मेसिन जतिसक्दो छिटो पुर्‍याउन सकियो त्यति नै चाँडो परियोजना पुनः सञ्चालनमा ल्याउन सकिन्छ, मानवीय जनशक्तिको मात्रै भरपर्ने हो भने एक वर्षभन्दा बढी समय लाग्ने देखिएको छ’, उनले भने । उक्त विद्युत् आयोजना सन् १९९३ मा स्थानीयको लगानी र अष्ट्रिया सरकारको सहयोगमा निर्माण भएको हो । सगरमाथा क्षेत्रमा पर्ने सो आयोजनाको क्षमता विस्तार गर्नका लागि भारत सरकारले सन् २०१३ मा रु चार करोड ४६ लाख सहयोग गरेको थियो ।

उक्त रकमबाट आयोजनाको पेनस्टक पाइप निर्माण गरिएको थियो । छ सय ३० किलोवाट क्षमताको आयोजना भारत सरकारको सहयोगपछि स्तरोन्नति गरी नौ सय ३० किलोवाट क्षमताको बनाइएको थियो । उक्त क्षेत्रमा आजदेखि नेपाल टेलिकमको मोबाइल सेवा आंशिक रुपमा सञ्चालनमा आएको जनाइएको छ । यद्यपि नाम्चेभन्दा माथिको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार दिउँसो थामेको शिरमा रहेका दुई वटा हिमताल फुट्दा थामे खोलामा आएको बाढीले खुम्बुसहित तल्लो सोलुका नदी आसपासका क्षेत्रमा क्षति पुर्‍याएको थियो । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो ।
बाढीले खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चेतर्फको क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको थियो । बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिँसिदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको थियो । जसका कारण सल्लेरीबाट खुम्बुसम्मको आवतजावत अवरुद्ध भएको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal